बिहीबार धौलीगङ्गाकाे बाँध खोल्दै भारत : महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

डडेल्धुरा । भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको धौलिगङ्गा जलविद्युत परियोजनाको बाँध पुनः खोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय डडेलधुराले जारी गरेको सूचनाअनुसार साउन ३२ गते बिहीबार बिहान ५ देखि बेलुकी ८ बजेसम्म धौलिगङ्गाको बाँधका ढोकाहरू खोलिने भएका हुन।

भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको हो । बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतले बर्खाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ । यसअघि भारतले गएको असार २६ गते पहिलो पटक बाँधका ढोका खोलेको थियो भने पुनः साउन ६ गते दोस्रो पटक बाँधका ढोका खोलेको थियो ।

यसअघि २०७० सालमा भारतले नेपालतिर कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा दार्चुलामा अर्बौँको क्षति भएको थियो । पछिल्लो समय परियोजनाका ढोका खोल्दा नेपाली प्रशासनलाई पनि पूर्व जानकारी दिने गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १० : ५० बजे