मुगु जिप दुर्घटना: मृत्यु हुनेको संख्या ४ पुग्यो

मुगु– मुगुमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ। मुगुको सोरु गाँउपालिकाको सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप दिउँसो दुर्घटनामा परेको थियो। 

सोरु गाँउपालिका–६ सिपपहिरो भन्ने स्थानमा भएको दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो। दुर्घटनामा ७ जना गम्भीर घाइते भएका थिए। 

मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपगाउँका राम परियार (क) र सोही ठाउँका राम परियार (ख),  प्रकाश बोहोरा र पिउस परियार रहेका जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी महेश बस्नेतले जानकारी दिए। 

यस्तै, गम्भीर घाइते हुनेमा मुगुको सोरु गाउँपालिका–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडासदस्य लोकजङ्ग नेपाली रहेका छन्। त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्।

जिप सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो। 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : २८ बजे