कैदीबन्दी मृत्यु प्रकरण : कारागारका निमित्त प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी, असई चौधरी पक्राउ

किमाथाङ्का ।  सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् । 

चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी सहायक निरीक्षक चौधरीलाई पक्राउ गरी जिल्ला अदालत सङ्खुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो । 

कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा प्रमुख चौधरीलाई आइतबार पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरी निरीक्षक खनालले बताउनभयो । पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी थियो । 

कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । शनिबार जिल्ला प्रहरी कार्यालयमा कारागार निमित्त प्रमुख (जेलर) घिमिरे र प्रहरी सहायक निरीक्षक चौधरीविरूद्ध जाहेरी परेको थियो । 

उक्त जाहेरी परेपछि प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरे र चौधरीविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन । यस घटनामा अन्य व्यक्तिको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको छ । पक्राउ पुर्जी जारी भएका कारागारका निमित्त प्रमुख घिमिरेलाई पक्राउ गरेर अनुसन्धान बढाइने प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ३ : २६ बजे