नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि

भरतपुर । नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । 

जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ । 

आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जल सतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ । देवघाटमा सात दशमलव तीन मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ । 

नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो । चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा  वर्षा भइरहेको जनाइएको छ ।

नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाले आज पनि भारी वर्षा हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ७ : ३२ बजे