दावाको कनेक्सन खोजी गर्दै सिआइबी, कल डिटेलमा देखियो माओवादी नेता र व्यापारीसँगको सम्पर्क

​​​​​​​काठमाडौं । सय केजी सुन तस्करी प्रकरणको छानबिन शुरू गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका आरोपितसँगको कनेक्सनमा रहेका नेपाली तथा विदेशी नागरिकको खोजी तीव्र बनाएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई केन्द्रबिन्दु बनाएर सीआईबीले छानबिन शुरू गरेको छ ।

अन्तर्राष्ट्रिय सुन तस्करी गिरोहमा रहेर लामो समयदेखि काम गर्दैै आएका छिरिङको फरम्याट भएको मोबाइललाई रिकभर गर्दै तथा सामाजिक सञ्जालबाट आदान प्रदान भएका सूचनालाई आधार मानेर सीआईबीले छानबिन प्रक्रिया अघि बढाएको छ ।

ब्युरोले छिरिङको मोबाइलको कल डिटेल मगाएर अनुसन्धान गरेको छ । उनको कल डिटेल हेर्दा डरलाग्दो अवस्था देखिएको पनि सुन काण्डको अनुसन्धान गरिरहेको ब्युरोका एक अधिकृतले जानकारी दिए । खास गरी छिरिङको नेकपा माओवादी नेतासँगको कनेक्सन देखिएको छ भने नेपालका व्यापारीसँग पटकपटक सम्पर्कमा रहेको र केही सरकारी उच्च कर्मचारीसँग समेत छिरिङको सम्पर्क रहेको पनि ब्युरोको अनुसन्धानले देखाएको छ ।

ब्युरोले छिरिङले नेपालबाट लिएको नागरिताको बारेमा समेत छानबिन शुरू गरेको छ । ब्युरोका एक अधिकृतका अनुसार छिरिङको हङकङ, दुबई, भारत र अफ्रिकाका तस्कर र माफिया समूहसँगसमेत कनेक्सन रहेको पत्ता लागेको छ । सुन तस्करी प्रकरणलाई टुंगोमा पु¥याउने दबाबमा रहेको ब्युरोले यसमा संलग्न अन्य व्यक्तिहरूको संलग्नताको पुष्टि गर्ने आधार खोजेको र केही महत्वपूर्ण सूचना पाएको पनि ती अधिकृतले  जानकारी दिए ।

हाल ब्युरोको हिरासतमा रहेका छिरिङले छानबिन प्रक्रियालाई सहयोग नगरेको र जे कुरा सोधे पनि आफूलाई थाहा नभएको बताउँदै आएको पनि ती अधिकृतले जानकारी दिए । ‘हामी यसलाई गलाउने तयारीमा छौं तर ऊ कुनै कुरा पनि स्वीकार गरिरहेको छैन’ –ती अधिकृतले भने ।

‘पक्राउ परेका अन्य आरोपितसँग बयान लिइरहेको ब्युरोको टोलीले हाल फरार रहेका केही माडवारी समुदायका व्यापारीको संलग्नताको बारेमा केही महत्वपूर्ण सूचना दिएका छन्, त्यही सूचनालाई आधार मानेर उनीहरूको संलग्नताको बारेमा थप अनुसन्धान अघि बढाएका छौं ।’ 

काठमाडौँ ठमेलबाट आइतबार बिहान पक्राउ परेका दावाको राजनीतिक कनेक्सन वर्तमान सत्तारूढ दलका नेताहरूसँग रहेको देखिएको छ। त्यसमा विशेष गरी नेकपा माओवादी केन्द्रका नेताहरुसँग उनको कनेक्सन देखिएको छ।

तर अहिलेको सुन प्रकरणमा उनले माओवादी केन्द्रका नेताहरूसँग सम्पर्क गरे नगरेको विषयमा अनुसन्धान हुँदैछ। विगतमा दावाको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको छ। उनीहरूसँग के कति कारणले दावाको सम्पर्क भयो भन्नेबारे केही खुलेको छैन। तर दावाले सामाजिक सञ्जालमा राखेको तस्बिरमा उनीहरू पनि सँगै खाना खाएको र बसेको देखिन्छ।

राजश्व विभागको टोलीले काठमाडौँको ठमेलस्थित होटेल भियनामा छापा मारेर दावालाई पक्रेको हो। ठमेलमा सञ्चालित होटेल भियनामा राजस्व अनुसन्धान विभागको टोलीले आइतबार बिहान छापा मारेर उनलाई नियन्त्रणमा लिएको थियो।

चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई प्रहरीले पक्राउ गरेसँगै सुन तस्करी अनुसन्धानको सुई राजनीतितिर सोझिएको हो। 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १२ : १० बजे