हातखुट्टा बाँधेर विष खुवाईएको अवस्थामा वृद्धा फेला

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाट स्थित अधेरीमा गएराति १२ बजेको समयमा एकवृद्धालाई हात खुट्टा बाँधेर विष खुवाइएको पाइएको छ।

शुक्रबार मध्यरातमा स्थानीय श्रीराम ढकाललाई अज्ञात समूहद्वारा मोटरसाइकलको टिउले हात खुट्टा बाधेर बिष खुवाइ छाडिएकाे अवसथामा फेला पारिएको हाे । वृद्धा एक्लै घरमा रहेको मौका छोपि अपरिचित व्यक्तिहरुले हात खुट्टा बाँधेर विष खुवाइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपी प्रहरीले विष कसले खुवायो भन्ने बारेमा खोज र अनुसन्धान थालेको छ।

वृद्धालाई थप उपचारका लागि काठमाडाै‌मा स्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । ढकालको अवस्था गम्भीर रहेको आफन्तहरूले बताएका छन्। उहाँको श्रीमती सप्ताहमा फटकशिला गएको,दुई छोरामध्ये एक जना शसस्त्र प्रहरीमा कार्यरत रहेको र अर्को छोरा उच्च शिक्षाको लागि अस्ट्रेलिया रहेको र एकान्तमा रहेको घरमा एक्लै रहेको समयमा सो घटना भएको वडा अध्यक्ष कुमार ढकालले बताउनुभयाे ।

अपहरण शैलीमा अज्ञात समूहले यो घटना घटाएको अध्यक्ष ढकालले बताउनुभयाे । प्रहरीले राती नै घटनास्थल पुगेर आवश्यक अनुशन्धान थालेको छ ।

सिपाघाट प्रहरी चौकीको टोली सूचना पाउन साथ घटना स्थल पुगेको थियो । प्रहरी पुग्दा वृद्धालाई छिमेकीले अस्पताल लैजाने तयारी गरिसकेका थिए। टायरको टिउले वृद्धाको हात खुट्टा बाँधेर विष खुवाइएको पाइएको स्थानीयहरुले बताएका छन् । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगी अनुसन्धान गरिरहेको छ ।

प्रहरीले घटना स्थलबाट विषको बोतल र मदानीको डोरी बरामद गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ११ : १२ बजे