प्रभु साहका कारण गौर हत्याकाण्ड भएको जसपाको दाबी, उच्चस्तरीय छानबिन समिति गठनको माग

​​​​​​​काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० ले गौरहत्याको छानबिनका लागि सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेको छ । 

जसपाले १७ वर्ष पुरानो घटनामा विज्ञप्ति जारी गर्दै यस्तो माग राखेको हो । तराई, मधेश र थरुहटलगायत क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडजस्ता घटना सत्यतथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँझबुच आयोग, २०७३ को प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ । 

हत्याकाण्डको छानबिन गर्न सरकारले हालै पीडित पक्षसँग गरेको सहमतिप्रति जसपाले आपत्ति जनाएको छ । गृह मन्त्रालय र पीडित पक्षबीच भएको उक्त सहमतिलाई जसपा प्रवक्ता मनिष सुमनले आफ्ना नेतालाई फसाउने प्रपञ्च भनेका छन् । 

‘दोषी उम्काउने र घटना सम्बधमा संलग्न नरहेका व्यक्तिलाई बदनियतपूर्ण ढंगले फसाउने कार्य सरकारले बन्द गरोस्,’ विज्ञप्तिको अगाडि भनिएको छ, ‘तराई, मधेश, थरुहटलगायत क्षेत्रमा विभिन्न दलले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाहरु सत्यतथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँझबुझ आयोग, २०६३ (सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल आयोग) को प्रतिवेदन सार्वजनिक गरियोस् ।’

जसपाले गौरहत्याकाण्ड तत्कालिन नेकपा (माओवादी) को भ्रातृसंगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रभु साहसहितको हठका कारण भएको पनि आरोप लगाएको छ ।    

साथै, घटनापश्चात् तत्कालिन नेकपा (माओवादी) ले केही व्यक्तिलाई उक्साएर उक्त दिन कार्यक्रममा उपस्थिति नै नभएको र काठमाडौंमै रहेको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलागयत सैकडौं व्यक्तिमाथि राजनीतिक पूर्वाग्रहपूर्ण नियतका साथ प्रतिशोधका लागि बदनियतपूर्ण ढंगले जाहेरी दिन लगाएको पनि विज्ञप्तिमा उल्लेख छ । 

२०६३ सालमा रौटहटको गौरस्थित राइसमिलको चौरमा त्यसबेलाको मधेसी जनाधिकार फोरमका कार्यकर्ताको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएको घटना ‘गौर हत्याकाण्ड’ का रुपमा चर्चित छ । १७ वर्षअघि उक्त हत्याकाण्ड हुँदा फोरमका अध्यक्ष थिए उपेन्द्र । उनकै संलग्नतामा घटना गराइएको भन्दै अदालतमा मुद्दासमेत परेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ५ : ५१ बजे