सुनको मूल्यमा नयाँ कीर्तिमान

थाई राजाका छोरा २७ वर्षपछि फर्किएपछि तरङ्ग

बीबीसी न्यूज, ब्याङ्कक । देशमा नयाँ सरकार गठन गर्ने सन्दर्भमा जारी खिचातानीको समाचार सुनिरहेका थाई नागरिकहरूको ध्यान यो साता एउटा अलि भिन्न घटनातिर आकृष्ट भएको छ। संयुक्त राज्य अमेरिकाबाट २७ वर्षपछि पहिलो पटक आफ्नो जन्मथलो फर्किएका एक वकिलबारे अहिले त्यहाँ चर्चा र चासो उत्पन्न भएको छ।

बयालीस वर्षीय वाचरेसोर्न वाचरोङ थाई राजा महा वाचिरालोङ्कोर्नका माइला छोरा हुन्। थाई राजाका चार छोराहरू उनीसँग बस्दैनन्। वाचरेसोर्न वाचरोङ तिनैमध्ये हुन्। चारै जनाको शाही उपाधि खोसिएको र उनीहरूलाई थाई राजगद्दीको उत्तराधिकारी नमानिएको ठानिन्छ।

राजाकी जेठी छोरी राजकुमारी पचरगीतियापा उनकी उत्तराधिकारी बन्न सक्ने ठानिन्थ्यो। तर गत डिसेम्बरमा अकस्मात् मूर्च्छित भएपछि थाई राजगद्दीको विषय अप्ठ्यारोमा परेको छ। उनी अझै मूर्च्छित छिन् र पूर्णतः निको हुन सम्भावना कम देखिन्छ।

थाईल्यान्डमा वर्षौँदेखि राजाले आफ्ना कुनै एक छोरालाई फिर्ता बोलाउने र शाही भूमिका निर्वाह गर्न लगाउन सक्ने विषयबारे चर्चा हुँदै आएको छ। 

वाचरोङको अघोषित भ्रमण उक्त प्रक्रियाको थालनी हुनसक्छ।

यद्यपि राजदरबारले यसबारे कुनै औपचारिक टिप्पणी गरेको छैन।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ५ : ४५ बजे