गौर घटनाबारे सरकारले गरेको सहमतिले शान्ति र सद्‍भाव बिथोल्ने काम गर्‍यो : जसपा

काठमाडौँ ।  सत्तारुढ दल जनता समाजवादी पार्टी ९जसपा०ले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको भन्दै आपत्ति जनाएको छ । जसपाले सम्झौताको बारेमा शुक्रबार आफ्नो औपचारिक धारणा राख्दै राजनीतिक सन्दर्भ परिवर्तन भइसकेको अवस्थामा त्यस प्रकारको सम्झौता हुनु दुस्खद् भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै जसपाका महासचिव मतिष सुमनले गृह मन्त्रालय र रुपसागरदेवी उपाध्यायबीच भएको सहमतिले मुलुकको शान्ति, स्थिरता र सद्भावना बिथोल्ने काम गरेको बताउनुभयो ।   सरकार तथा गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गत मंगलबार ५ बुँदे सहमति भएको थियो ।

सरकार र आन्दोलनरत पक्षबीच भएको ५ बुँदे सहमति अनुसार २०६३ चैत ७ मा गौरमा भएको घटनामा दोषीमाथि छानबिन गर्ने उल्लेख छ ।
जसपाले सो घटनाको सन्दर्भमा गठन भएका विभिन्न छानबिन आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग पनि गरेको छ । जसपाले माओवादीले उक्साएर तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवसहित सयकडौं विरुद्ध जाहेरी दिन लगाएको पनि आरोप लगाएको छ ।  २०६३ चैत ७ गते रौतहटको गौरस्थित राइसमिल चौरमा भएको घटनामा २७ जना मरिएका थिए । माओवादी र तत्कालीन मधेश जनाधिकार फोरमबीच झडप भएको थियो । त्यस घटनामा संलग्न रहेका भनिएका विभिन्न व्यक्तिहरु जसपाको विभिन्न कमिटीको नेतृत्वमा छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ३ : २२ बजे