साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ग्रामीण क्षेत्रमा विद्युतीकरण शुरु

वाग्मती – मकवानपुरको ग्रामीण तथा दुर्गम क्षेत्रका बस्तीमा  चालु आर्थिक वर्षमा रु नौ करोड ९० लाखको लागतमा ग्रामीण विद्युतीकरण कार्य शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र कार्यालय हेटौँडाद्वारा उक्त विद्युतीकरणको काम अगाडि बढाइको हो ।

    स्थानीय निकाय र जनताको  मागको आधारमा ग्रामीण क्षेत्रमा विद्युतीकरणको काममा तीव्रता दिइएको बताइएको छ । उक्त विद्युत्ीकरणका लागि टेण्डरसमेत स्वीकृत भइसकेको र केहीस्थानमा निमार्ण प्रक्रियासमेत भइरहेको केन्द्रका कार्यालय प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभयो । उक्त बजेटको आधारमा मकवानपुरको सात गाउँपालिकासहित एक उपमहानगरपालिकामा ग्रामीण विद्युतीकरणको काममा तीव्रता दिइएको सो कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार मकवानपुरको मनहरि, मकवानपुरगढी, भीमफेदी, वकैया, राक्सिराङ, कैलाश र वाग्मती गाउँपालिका तथा हैटौँडा उपमहानगरपालिका क्षेत्रमा ग्रामीण विद्युतीकरणको काम शुरु भएको हो । 

    साथै उक्त कार्यालयले आफनो कार्यक्षेत्रमा काठका पोल विस्थापित गरी नयाँ सिमेन्टका पक्की पोल राख्ने र तार तथा नयाँ टान्सफर्मर समेत लगाउने काम गरिरहेको छ ।    कार्यालयवाट ६५ हजार २५४ विद्युत् मिटर लिने ग्राहक रहेका छन् । चालु आर्थिक वर्षको चैत महिनासम्ममा चार हजार नयाँ विद्युत् मिटर ग्राहक थपिएको छ । विगतमा ६१  हजार विद्युत् मिटर ग्राहक थिए । सो कार्यालयलाई मासिक रु १९ करोडभन्दा बढी विद्युत् सेवा लिएबापत विद्युत्् महसुल उठ्ने गरेको कार्यालयको लेखा शाखाले जनाएको छ ।

    साथै कार्यालयमा लामो समयसम्म विद्युत्् महसुल  अर्थात विद्युत्् राजस्व नवुझाउनेको सङ्ख्या हालसम्म २२ हजार रहेको र उनीहरुको विद्युत् लाइन काटिएको छ जसमध्ये ५४० ग्राहक कालोसूचीमा राखिएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ । त्यस कारबाहीमा पर्नेहरु सर्वसाधारण उपभोक्ता, उद्योगी र व्यवसायीसमेत रहेका छन् । 

    कालोसूचीमा परेकाहरुबाट रु ६६ लाख महसुल उठन् बाँकी रहेको छ । साथै कारबाहीमा परेकाहरुको घरबाट विद्युत् मिटरसमेत उठाउने कार्य भइरहेको बताइएको छ । त्यस्तै कार्यालयले विद्युत् महसुल बुझाउन समस्या आउन नदिनका लागि सो कार्यालयअन्तर्गत  मनहरि, भीमफेदी र फाफरवाडीमा विद्युत् महसुल काउन्टरको व्यवस्था गरेको छ । साथै अनलाइनबाटसमेत विद्युत् महसुल वुझाउने व्यवस्था रहेको छ ।
 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ३ : ५६ बजे