यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

निष्क्रिय मुद्दा जगाएर सांसद शर्मालाई पक्राउ गरिएको खुलासा

काठमाडौँ । सांसद सुनिल शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र लिएको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ।

साउन ३ गते एक सय किलो सुन समातिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतमाथि छानबिन हुनुनुपर्ने आवाज उठाउँदै आएका शर्मालाई बिहीबार दिउँसो उनकै निवास गल्फुटारबाट पक्राउ गरेको हो।

नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक रहेकै अवस्थामा उनी गत मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा मोरङ ३ बाट निर्वाचित भएका थिए।

स्रोतका अनुसार शर्माको प्लस टुको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुरानो अनुसन्धानलाई सीआइबीले निरन्तरता दिएको हो।

उनले बिहार इन्टरमिडियट काउन्सिलबाट लिएको शैक्षिक प्रमाणपत्र नक्कली अभियोगमा २०७३ सालमै सिआइबीले अनुसन्धान गरेको थियो। त्यसबेला उनलाई पक्राउ गर्ने तयारी गरिए पनि भागेर जापान पुगेकाले बचेका थिए।

सुन प्रकरणमा गृह र अर्थमन्त्रीलाई जोडेर अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गर्न प्रहरीमाथि दबाब परेको हो। उनले सुन तस्करीमा भरियालाई मात्र समातेर मुख्य नाइकेलाई जोगाएको भन्दै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका थिए।

सांसद शर्मालाई पक्राउ गरेसँगै तुरुन्तै सभामुखलाई त्यसको जानकारी सिआइवीले दिनुपर्ने व्यवस्था संविधानको धारा १०३ ले गरेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : १६ बजे