गोरखा प्रहरीले बरामद गरेको ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ भएको प्रमाणित, विभागमा बुझाइदिन पत्राचार

गाेरखा – जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद गरेको टल्कने ढुङ्गा क्वार्ज क्रिस्टल रहेको खानी तथा भूगर्भ विभागले प्रमाणित गरेको छ । विभागका भूगर्भविद्को समूहले दुई दिन लगाएर ढुङ्गाको विभिन्न पक्ष अध्ययन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयलाई नमुना परीक्षणबारे जानकारी गराउँदै विभागकी भूगर्भविद् डाक्टर सुस्मिता भण्डारीले बरामद भएकाे ढुङ्गा महत्त्वपूर्ण र बहुमूल्य रत्न पत्थर भएको बताउनुभयो । भूगर्भविद्को टोलीले ढुङ्गाको नाप तौल लिनुका साथै यसको विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो । संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद् भण्डारीले कडापनका आधारमा बरामद भएकाे ढुङ्गा साताैँ नम्बरमा रहेको जानकारी दिनुभयो । उहाँले ५२ किलो तीन सय ३० ग्राम तौलको एउटै चट्टान भेटाउन पनि मुस्किल पर्ने पनि बताउनुभयो ।

प्रहरीले गोरखा नगरपालिका–७ सतिपिपलबाट गएकाे असार १४ गते याे ढुङ्गा बरामद गरेको थियो । लाखौँ रुपैयाँमा खरिद/बिक्रीका लागि मोलमोलाइ भइरहेको सूचनाका आधारमा प्रहरीले ढुङ्गा राखिएको घरमा छापा मारेर बरामद गरेकाे हो । गाेरखामा रहेका सामाजिक सङ्घ–संस्थाहरूले याे ढुङ्गालाई गोरखा दरबार परिसरमा स्थापना गर्नुपर्ने माग गर्दै आएका छन् । ढुङ्गाबारे यकिन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयले खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको थियो । त्यही आधारमा विभागले भूगर्भविद् डाक्टर सुस्मिता भण्डारी र दुर्गा बोलाखेलाई गोरखा पठाएको हो ।

क्वार्ज क्रिस्टल मुख्यरूपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ । घडी, कम्प्युटर, रेडियो ट्रान्समिटरजस्ता विद्युतीय उपकरणहरूमा पनि केही रूपमा क्वार्ज क्रिस्टलको प्रयोग हुने गरेको भूगर्भविद् भण्डारीले बताउनुभयो ।

अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा बरामद गरिएकाे ढुङ्गा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ । खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा सङ्कलन गरिएकाले त्याे पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमा उल्लेख गरिएको छ । विभागको अनुमति नलिई कसैले पनि यस्ता खनिज पदार्थ उत्खनन सङ्कलन गर्न नपाइने र गरेमा एक लाख रुपैयाँसम्म जरिबाना हुने कानुनी प्रावधान रहेको भूगर्भविद् भण्डारीको भनाइ छ ।

विभागको टोलीसँगको भेटमा गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले ऐतिहासिक र धार्मिक हिसाबले त्याे पत्थरलाई गोरखामै राख्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १० : ३६ बजे