बरामद गरिएका ‘ब्रेक शु’ बाट सुन झिकेको पाइयो

काठमाडौं – सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाडौंस्थित सोह्रखुट्टे गोदामबाट बुधबार बरामद गरिएका स्कुटरको ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको छ।

विभागका अनुसार सुन झिकेपछि दुरुस्तै बनाएर ‘ब्रेक शु’लाई कार्टुनमा ‘पुन:प्याक’ गरेको पाइएको छ।

राजस्व अनुसन्धान विभागका अनुसार १ हजार ३२० थान बढी ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको हो । १००० ग्राम तौलको एक थान ‘ब्रेक शु’बाट ५५५ ग्राम सुन झिकेको पाइएको छ। समग्रमा ब्रेक शुबाट ७३२.६ केजी सुन झिकेको पाइएको छ। सुन झिकिएपछि अहिले ‘ब्रेक शु’को प्रतिथान तौल ४४५ ग्राम मात्रै छ।

गोदामबाट बरामद गर्ने क्रममै सुन छुट्टयाएर तस्करले लगिसकेको अवस्थामा फुक्लेका ‘ब्रेक शु’ बरामद गरेको थियो । ती ‘ब्रेक शु’लाई ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको थियो।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ७ : ३६ बजे