झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

कांग्रेस केन्द्रीय समिति बैठक: खाँणको पक्षमा संस्थापन तर्फका सहमहामन्त्री र केन्द्रीय सदस्यहरू

काठमाडौँ- सानेपास्थित केन्द्रीय कार्यालयमा जारी नेपाली कांग्रेसको बैठक सोमबार  नक्कली शरणार्थी काण्डमा परेका नेता बालकृष्ण खाँणलाई पार्टीले जोगाउन नसकेको भन्दै सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्मले आवाज उठाएका छन्। यसरी आवाज उठाउनेहरू सभापति देउवा पक्षका नेता हुन्।

सहमहामन्त्री महेन्द्र यादवले खाँणलाई राज्य नै लागेर फसाएको आरोप लगाए। खाँण 'परिवारकै सदस्य' भएको भन्दै उनलाई सहयोग गर्न केन्द्रीय सदस्यहरूलाई आग्रह गरे।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले खाँणको नाम नलिई पार्टीका नेताहरू नै आरोप प्रमाणित गर्न लागेको बताइन्। "हाम्रो एक जना साथीलाई आरोप लागेको छ। न्यायलयमा यो विचाराधीन मुद्दा छ। हाम्रै साथीहरू आरोप प्रमाणित गर्न दबाब दिइरहनुभएको छ," उनले भनिन्।

परराष्ट्रमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य एनपी साउदले भुटानी शरणार्थी प्रकरणमा अदालतको अन्तिम फैसला नआएसम्म थुनामा रहेका नेतालाई कारबाही गर्न नहुने बताए। उनले अनुसन्धानमा सघाउँदै आएको व्यक्तिलाई कारबाही गरे पार्टीको हित नहुने दाबी गरे।

प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले खाँणलाई छिटो पक्राउ गर्न माग गरेर कांग्रेस नेताहरू नै गृहमन्त्रीलाई भेट्न गएको बताए। उनले खाँणलाई 'परिवारको सदस्य' बताएका थिए। नेपाल तरूण दलका पूर्वअध्यक्षसमेत रहेका केन्द्रीय सदस्य जितजंग बस्नेतले पनि खाँण पक्राउ परेपछि केही नेता गृहमन्त्रीलाई धन्यवाद दिन पुगेको भन्दै असन्तुष्टि जनाए।

यसअघि, पूर्वउपसभापतिसमेत रहेका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले खाँणलाई पुर्पक्षका लागि कारागार जानुअघि बचाउन नसकिएको बताएका थिए। "एउटा साथी पुर्पक्षमा थुनिएको छ। त्यहाँ पुग्नबाट उसलाई रोक्न सकिन्थ्यो, किन रोकिएन," उनले भनेका थिए, "पुर्पक्षमा जसलाई पनि राख्न पाउँछ। दोषी ठान्न भएन। उहाँका बारेमा यसरी छलफल नगरौं। हाम्रो परिवारको एक सदस्य कारागारमा छन्।"

संस्थापन इतरपक्षका केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, अजयबाबु शिवाकोटी र मधु आचार्यले भने खाँणलाई निलम्बन गर्नुपर्ने बताएका थिए।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : १८ बजे