यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजार उकालो लागेको हो । 

मौद्रिक नीतिले शेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने व्यवस्था गरेसँगै आइतबार शेयर बजारमा सकारात्मक प्रभाव परेको हो । 

शेयर धितो कर्जामा जोखिम भार घटाएपछि यो क्षेत्रमा बैङ्कहरू शेयर कर्जा प्रवाह गर्न उत्साहित हुने देखिएको छ ।

जोखिम भार घट्ने भएपछि शेयर धितो कर्जा पनि सस्तो हुनेछ । यस कारण लगानीकर्ताहरू उत्साहित भएको जानकारहरू बताउँछन् । हाल शेयर धितो कर्जा लगायतका क्षेत्रमा जोखिम भार १५० प्रतिशत छ । यसलाई घटाएर १०० प्रतिशतमा कायम गर्नुपर्ने लगानीकर्ताको माग छ । हाल जोखिम भार बढी भएकै कारण यी क्षेत्रमा कर्जा प्रवाह खासै हुन सकेको छैन ।

त्यस्तै राष्ट्र बैङ्कले नीतिगत दर पनि घटाएको छ । यस कारण पनि अब बिस्तारै ब्याजदर घट्दै जाने देखिन्छ । यस दिन सेन्सेटिभ इन्डेक्स ३ दशमलव ५१ प्रतिशत, फ्लोट इन्डेक्स ३ दशमलव १८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव ०८ प्रतिशत वृद्धि भएको छ ।

कारोबारमा आएका २६६ धितोपत्रको १ करोड २० लाख २ हजार ३०८ कित्ता शेयर ७५ हजार ८६ पटकमा रु ४ अर्ब ३७ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितो पत्र मध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन सर्वाधिक शेयर खरिदबिक्री शिवम् सिमेन्ट्सको भएको छ । कम्पनीको रु १४ करोड ८१ लाख बराबरको शेयर खरिद विक्री भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु ६४५ पुगेको छ । सर्वाधिक शेयर खरिद विक्री हुनेको सूचीमा दोस्रोमा ज्योति विकास बैङ्क छ । कम्पनीको रु १३ करोड ७७ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ९ : १३ बजे