झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् । 

सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेको छ । 

नेकपा एमाले केन्द्रीय कमिटीले यस वर्ष ४५ औँ पुष्पलालको स्मृति दिवस रामेछापमा मनाउने भएको छ । एमाले केन्द्रीय कमिटी र जिल्ला कमिटीको आयोजनामा पुष्पलालको जन्मस्थल रामेछापमा स्मृति दिवस कार्यक्रम हुन लागेको हो । 

कार्यक्रम पार्टी महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यतामा हुन लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।  अधिकारीका अनुसार एमालेले पुष्पलालको जन्मथलो भँगेरी र काठमाडौँको भृकुटी मण्डपमा स्मृति दिवस मनाउन लागेको हो । 

त्यस्तै पुष्पलाल स्मृति उद्यानमा नेकपा (एकीकृत समाजवादी)ले एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरूले पनि विभिन्न कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाउँदै छन् ।

विसं २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको  स्थापना गर्दा पुष्पलालले समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राख्नुभएको थियो । विसं १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मनुभएका पुष्पलाल वैचारिक रूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित हुनुहुन्छ । जनमतका हिसाबले ठुलो हिस्सा कम्युनिस्ट र वामपन्थी भएपछि विभिन्न टुक्रामा विभक्त हुँदा उहाँले देख्नुभएको सपना पूरा हुन नसकेको गुनासो कायमै छ ।

संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषि क्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ । 

 

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ६ : ५७ बजे