यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

मकवानपुर – हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन आजदेखि बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण हिजो बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ ।

    सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो । 

    उद्योगमा बाह्य देशबाट गुणस्तरीय कोइला करिब दुई हप्ताभित्र ल्याएको र प्रथम चरणमा एक हजार मेट्रिक टन केही दिनभित्रै आइपुगेपछि सिमेन्टको उत्पादन कार्य सुरु गरिने उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले राससलाई बताउनुभयो ।

    उहाँका अनुसार अहिले सिमेन्ट उद्योगको भण्डारमा करिब आठ सय मेट्रिक टन कोइला रहेको भएपनि पर्याप्त कोइला नहुँदासम्म क्लिङ्कर उत्पादन गर्न समस्या आइपरेको उल्लेख गर्नुभयो । महाप्रबन्धक पाण्डेले उद्योगमा अहिले दुई लाख ५० हजार बोरा सिमेन्ट रहेको र त्यसलाई काठमाडौँलगायत विभिन्न सहरमा खपतको लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

    उद्योगको क्लिङ्कर उत्पादन गर्ने आगो बाल्ने भट्टीको केही उपकरणको आगामी एक हप्ताभित्रै मर्मतसम्भार गर्ने लक्ष्य रहेको उद्योगका नायब महाप्रबन्धक कर्णले जानकारी दिनुभयो । करिब चार दशक पुरानो हेटौँडा सिमेन्ट उद्योगबाट विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरूपमा उत्पादन सुरु गरिएको हो । 
 

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १० : ०५ बजे