भारतले नेपाललाई चामल नदिने

काठमाडौं । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यातमा रोक लगाएको छ । वाणिज्य तथा वैदेशिक व्यापार विभागले सूचना जारी गरेसँगै अब नेपालले भारतीय चामल नपाउने भएको हो ।

विभागले जारी गरेको सूचना अनुसार भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाएको उल्लेख गरेको छ ।

नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएपनि भारतको यस्तो निर्णयले नेपाल लगायतका मुलुकलाई ठूलो धक्का लागेको छ ।

भारतले कम मनसुनका कारण धान उत्पादन कम हुने र यसका कारण उत्पन्न हुनसक्ने देश भित्रकै खाद्यान्न अभावलाई रोक्न यस्तो निर्णय गरेको जनाएको छ ।

नेपालले भारतबाट बार्षिक १४ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० करोड ८९ लाख किलो चामल आयात गर्दै आएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ८ : ३५ बजे