एनआइसी एसिया बैंकले अनलाइनबाटै दुई लाखसम्मको कर्जा दिने

काठमाडौँ । एनआइसी एसिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा (Online Loan against Fixed Deposit) नामको योजना ल्याएको छ।

यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकले बैंकको मोबाइल बैंकिङ (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रु. दुई लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यो योजनाको लाभ लिनयोग्य ग्राहकहरूले मोबाइल बैंकिङ एप वा वेबसाइटमा उपलब्ध ‘Apply for Loan Against FD’ विकल्पमा जान सक्नेछन्। उक्त विकल्प छनाेट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ।

यसपछि ग्राहकले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि रु. दुई लाखसम्मको कर्जाका लागि आवश्यक विवरण भरेपछि ओटिपी कोड प्राप्त गर्नेछन्। उक्त ओटिपी कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम तुरुन्तै ग्राहकको खातामा जम्मा हुने बैंकले जनाएको छ।

यस योजनमार्फत रु. दुई लाखभन्दा माथिको कर्जाको हकमा भने ग्राहकहरूले डिजिटल फर्म भरेर बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रयमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने र कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्ने बैंकले स्पष्ट पारेको छ।

न्यूनतम रु. पाँच हजार कर्जा सीमा उपलब्ध यस योजनामा ग्राहकहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रक्रिया शुल्क, कर्जा भुक्तानी सुविधा, पुनर्तालिकीकरण र सर्तहरूका बारेमा कर्जा लिने प्रक्रियाको क्रममा जानकारी प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : ०८ बजे