झ्याप्लेखोलाबाट २५ शव निकालियो

छुटे पूर्वमन्त्री यादव

बाँके । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव सम्बन्धित व्यक्तिलाई रकम बुझाएपछि रिहा भएका छन् ।

यादवले तीन वर्ष पहिले सापटी लगेको १२ लाख २८ हजार रुपैयाँ फिर्ता नदिएको भन्दै रूपन्देहीको सियारी गाउँपालिका-१ का उमाशङ्कर यादवले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेका थिए।

मुद्दा दायरपछि जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा यादवलाई बाँके प्रहरीले आइतबार पक्राउ गरेको थियो। बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट पक्राउ परेका यादवलाई सोमबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको थियो।

प्रहरीले नियन्त्रणमा लिएपछि सापटी लगेको १२ लाख २८ हजार रकम सोमबार नै उमाशङ्कर यादवको बैङ्क खातामा यादवका आफन्तले जम्मा गरिदिएका थिए।

सोमबार नै रकम जम्मा गरे पनि पक्राउ परेका यादवलाई प्रहरीले मङ्गलवार मात्र रिहाइ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यादवले सोमबार नै रकम बुझाएको भए पनि आवश्यक प्रक्रिया पूरा नहुँदा मङ्गलवार मात्रै रिहाइ गरिएको बताए।

‘सापटी लिएको रकम सोमबार नै बुझाएको भन्ने थाहा भएको थियो तर, अदालतमा दर्ता भएको मुद्दामा सोही अनुसार आवश्यक कागजात र प्रमाणहरू पेश गर्नुपर्ने भएकोले मङ्गलवार मात्र रिहाइ गरिएको हो’, उनले भने।

मुद्दा दायर गरेका यादवले केही समयलाई भनेर लगेको सवा १२ लाख रुपैयाँ तीन वर्षसम्म पनि फिर्ता नआएपछि अदालतमा जान बाध्य भएको बताए। ‘ढिलै गरि भएपनि सापटी दिएको सबै रकम फिर्ता पाएको छु, सावा रकम बुझेपछि व्याज रकम भने नलिने गरि मिनाहा गरिदिएको छु,’ यादवले भने। २०७९ सालको निर्वाचनमा भने एमाले प्रवेश गरी उम्मेदवार बने पनि निर्वाचनमा पराजित भएका थिए।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : ४९ बजे