झ्याप्लेखोलाबाट २५ शव निकालियो

काँग्रेस केन्द्रीय समिति बैठक : आजबाट केन्द्रीय सदस्यले धारणा राख्न सुरु गर्ने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । 

मङ्गलवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक बिहान ११ः०० बजेदेखि सुरु हुनेछ ।  

केन्द्रीय कार्यालय सानेपामा मङ्गलवार बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शीर्ष नेताहरूले विभिन्न प्रस्तुति राख्दै सकिएको थियो । मङ्गलवार दिउँसो २ः०० बजेबाट सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गर्नुभएसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेन्डा राख्नुभएको थियो ।

त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ। 

त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिनुभएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राख्नुभएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : २५ बजे