आइएमई लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट

काठमाडौँ । आइएमई लाइफ इन्सुरेन्सको आइपिओ शनिवार बाँडफाँट भएको छ ।

यसमा गोला प्रथामार्फत ९ लाख ६० हजार जना सर्वसाधारण आवेदकहरूले सेयर पाएका छन् । यो आइपीओमा कुल ११ लाख ९५ हजार ९३२ जनाले आवेदन दिएकामा ११ लाख ८८ हजार ९९६ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ ।  

कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म अङ्कित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६।९१ रुपैयाँको दरले सर्वसाधारणलाई कुल ९६ लाख कित्ता सेयर बिक्री गरेको थियो । 

कम्पनीले कुल १ करोड २० लाख कित्तामध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई यसअघि नै बाँडफाँट गरिसकेको छ । 

त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । 

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, आइएमई लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपिओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : ४७ बजे