झ्याप्लेखोलाबाट २५ शव निकालियो

बाबुरामको आरोप – ‘काँग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्ता दोहन गर्न समाजवादी मोर्चा’

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समाजवादी मोर्चामा नरहनुको कारणबारे प्रस्टीकरण दिनुभएको छ । 

माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाही अघि बढे लगतै भट्टराई ले सो स्पष्टीकरण दिनुभएको हो ।  

''पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक राजनीतिक विषयप्रतिको अरुचि र अनिच्छा र खालि तत्कालीन संसदीय अङ्क गणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढङ्गले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुन पुग्यो'', उहाँले भन्नुभएको छ, ''नयाँ युगको नयाँ ढङ्गको समाजवादबारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अङ्कगणितका आधारमा काँग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्ता दोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो।'' 

उहाँले ट्विटरमा लेख्नुभएको छ: 
​​​​​​​धेरै शुभेच्छुकहरू विशेषतः माओवादी आन्दोलनमा लागेका साथीहरूले हामीलाई आफैँले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट किन अलग भएको भनेर र अन्य कतिपयले तपाईँ पुराना शक्तितिर कि नयाँ शक्तितिर भनेर निरन्तर प्रश्न गरिरहनु भएकाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नु आवश्यक भएको छ। 

१.नेपालमा संविधानसभाबाट समाजवाद-उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि ती उपलब्धिहरूको रक्षा गर्दै सुशासन र समृद्धिको जगमा समुन्नत समाजवाद निर्माण गर्न नयाँ ढङ्गको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्तावना हामीले अघि सारेकै हो। सकेसम्म पुराना शक्तिहरूको रूपान्तरणबाटै त्यस्तो शक्ति बन्न सके सहज हुन्छ भन्ने इमानदार प्रयत्न हामीले गरेकै हो। त्यस निम्ति गम्भीर प्रकृतिको वैचारिक-राजनीतिक छलफलको आग्रह पनि गरेकै हो। परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक(राजनीतिक विषयप्रतिको अरूची र अनिच्छा र खालि तत्कालीन संसदीय अङ्कगणित प्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफल विनै रहस्यमय ढङ्गले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुन पुग्यो। नयाँ युगको नयाँ ढङ्गको समाजवादबारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अङ्कगणितका आधारमा काँग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्ता दोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठुलो घात हो।

२.जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीति शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ। वीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवि जनसमक्ष धमिलिन पुगेको कुरालाई स्विकार्दै हामीले आत्मालोचना सहित त्यसलाई सच्याउने कार्य गरिसकेका छौँ ! अतः नयाँ युगको र देशको आवश्यकता अनुरूप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै वृहद नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढङ्गले स्पष्ट पार्न चाहन्छौँ।

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ९ : ४१ बजे