झ्याप्लेखोलाबाट २५ शव निकालियो

कोसी प्रदेश सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण : महासचिव पोखरेल 

​​​​​​​काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रको गरिमा र लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरूले गम्भीर हुनुपर्ने बताउनुभएको छ । 

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सत्ता गठबन्धन दल प्रधानमन्त्रीको बचाउमा लाग्नु नै नैतिक मूल्यको क्षति भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम, आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोसी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरू भएको  बताउनुभयो ।

''प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम , आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोसी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरू हुन् । यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरे पनि कम हुन्छ'', उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,' 'उक्त घटनाका सन्दर्भमा सत्ता गठबन्धनमा सहभागी दलहरूको बचाउले त्यसबाट नैतिक मूल्यमा भएको क्षतिको भर्पाई हुन सक्तैन । राष्ट्रको गरिमा र लोकतन्त्र रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरू गम्भीर हुनुपर्‍यो ।''

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अगाडि एक कार्यक्रममा दिएको अभिव्यक्तिको यति बेला चर्को आलोचना भइरहेको छ । 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : २६ बजे