झ्याप्लेखोलाबाट २५ शव निकालियो

कोसी प्रदेशमा सभामुख आफैँले हस्ताक्षर गरेर सरकार गठन गर्नु संवैधानिक सर्वोच्चता विपरीत : डा. कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कोसी प्रदेशमा सरकार निर्माण गर्दा विधि र पद्धति मिचिएको भन्दै विरोध जनाउनुभएको छ । 

सामाजिक सञ्जाल फेसबुकमार्फत डा. कोइरालाले सभामुख आफैँले हस्ताक्षर गरेर सरकार गठन गर्नु संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्त विपरीत भएको बताउनुभएको हो।

नेता कोइरालाले प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य सङ्ख्यामा सभामुखलाई समेत गणना गरेर पठाउने कुराको संवैधानिक व्याख्या नभए पनि यसो गर्नु संसदीय मान्यता विपरीत हुने बताउनुभयो ।

''प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य सङ्ख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या छैन।'',  उहाँले भन्नुभयो, ''तर सभामुख आफैले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रूपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्त विपरीत हुन जान्छ।''

''सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसद्को कार्य सञ्चालन र अध्यक्षता गर्नु हो'', उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ''यदि संसद्मा पेस भएको विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्ने बाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ।''

कोसी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली काँग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त हुनुभएको छ । यसको नेकपा एमालेले विरोध गरेको छ ।

बिहीबार बिहान बसेको सत्ता साझेदार ७ दलको बैठकले कोसी प्रदेशमा सकारको दाबी गर्दा सभामुखको सहित हस्ताक्षर बुझाउन प्रदेशका गठबन्धन दलहरूलाई निर्देशन दिएको थियो। कोसीको सभामुख रहेका बाबुराम गौतम माओवादी केन्द्रका सांसद हुनुहुन्छ । गौतमसहित गठबन्धनसँग ४७ मत छ। 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ५ : २६ बजे