भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोडको बजेट

चितवन। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

आइतबार १३ औं नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत गर्नुभएको हो।

महानगरले आगामी वर्ष आन्तिरिक आय एक अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, सडक बोर्ड नेपालबाट ३ करोड र बैंक मौज्दात १ अर्ब ६५ करोड रहने प्रक्षेपण महानगरको छ। 

अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रुपैयाँ रहने प्रक्षेपण गरेको उपमेयर अधिकारीले बताउनु भयो ।

वडास्तरबाटै कार्यक्रमहरु कार्यान्वयन हुनेगरी महानगरले सबै वडाहरुलाई २ करोड ७५ लाख रुपैयाँका दरले विनियोजन गर्ने प्रस्ताव गरेको छ। समपूरक र विशेष अनुदानअन्तर्गतका योजनाहरुको कार्यान्वयन गर्न समपुरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउनेगरी १० करोड रुपैयाँ छुट्टाएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य पुरा गर्नका महानगरले ३ करोड रुपैयाँ विनियोजन गरेको छ। यसको निर्माण पुरा गर्नका लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी गर्ने बजेट वक्तव्यमा उल्लेख छ।

महानगरले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरेको छ। संघ तथा प्रदेश सरकारसँग साझेदारी गर्दै यसको कार्यान्वयनका लागि २ करोड रुपैयाँ, भरतपुर–पोखरा–लुम्बिनी(गोल्डेन ट्रयांगल) पर्यटन प्रवद्र्धन कार्यक्रम, महानगरभित्रका ३० पर्यटकीय गन्तव्यको प्रवद्र्धन, विकास, पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याउने, पर्यटन क्षेत्रको विकास र विस्तारको गुरुयोजनाल तर्जुमा लगायतका लागि २ करोड रुपैयाँ छुट्टाएको छ।

 

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १ : ४० बजे