झ्याप्लेखोलाबाट २५ शव निकालियो

कमला नदीमा नियम विपरीत नदीजन्य पदार्थ उत्खनन रोक्न माग गर्दै प्रशासनलाई ज्ञापन

​​​​​​​सिराहा । चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउन्डेसन नेपालले जिल्लाको विभिन्न स्थानबाट हुँदै आएको अवैध तथा अनियन्त्रित नदीजन्य पदार्थ उत्खननको नियमन तथा नियन्त्रण गर्नुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाएको छ । 

नेपाल सरकारले तोकेको मानदण्ड विपरीत तथा वातावरणमा प्रतिकुल प्रभाव पर्ने गरी भएको उत्खनन रोक्न माग गर्दै फाउन्डेसनका अध्यक्ष विणुकुमार साह नेतृत्वसहितको टोलिले जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख भोजराज खतिवडामार्फत विभिन्न सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाएको हो । 

फाउन्डेसनले बुझाएको ज्ञापन पत्रमा जिल्लाको विभिन्न नदी तथा स्थानबाट मापदण्ड विपरीत भइरहेको उत्खननले वातावरणीय असन्तुलन, चुरे विनाश, भूक्षय तथा पानीका मुहान सुक्न थालेकाले मापदण्ड विपरीतका उत्खनन तत्काल रोक्न माग गरेको छ ।  ज्ञापन पत्रमा भनिएको छ, ‘यसअघि पनि कमला बचाउ अभियानको नाममा स्थानीय किसान, राजनीतिक दल, नागरिक समाजले उठाउँदै आएको आवाजप्रति ऐक्यबद्धता जनाउँदै उहाँहरूले उठाएको माग छिटोभन्दा छिटो पुरा गर्न सरोकारवालासँग अपिल गर्दछु ।’ 

विशेष गरेर सिराहा धनुषाको सीमाना भएर बग्ने धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्वको कमला नदीबाट राज्यले तय गरेको मापदण्ड विपरीत नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन भइरहेको प्रति फाउन्डेसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कमला नदीको जथाभाबी उत्खननका कारण किनारमा रहेका सिराहातर्फका कर्जन्हा, कल्याणपुर र सिराहा नगरपालिका प्रत्येक वर्ष प्रभावित हुने गरेका छन् । धनुषातर्फको चारनाथ तथा कमला नगरपालिकाका बासिन्दा प्रभावित हुने गरेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ७ : ४५ बजे