झ्याप्लेखोलाबाट २५ शव निकालियो

अश्लिल तस्बिर पठाएको आरोपमा एक जना पक्राउ

काठमाडौं – महिलालाई अश्लिल तस्बिर पठाएर हैरानी दिएको तथा चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

स्याङ्‍जा पुतलीबजार नगरपालिका-३ घर भई ठमेल बस्ने ४८ वर्षीय नन्दलाल शर्मालाई साइबर ब्युरोले पक्राउ गरेको हो ।

उनलाई सोमबार पोखराबाट पक्राउ गरेको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए ।

उनले एक महिलालाई सामाजिक सञ्जालबाट चिनजान गरी बैंकमा ऋण मिलाइदिन्छु भनेर भेटघाट गरी प्रलोभन समेत दिएको अनुसन्धानमा देखिएको छ । 

कुराकानी गर्दै पीडितलाई माया गर्ने भनेर विश्वासमा पारेर सँगै बसेका तस्बिरहरू गोप्य रूपमा खिचेर भिडिओ समेत खिचेका थिए । पछि आफूले बोलाउँदा नमानेपछि उनले तस्बिर, भिडिओ देखाएर हैरानी दिएको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, उनले ती तस्बिर र भिडिओहरू पीडित महिला, आफन्त एवं साथी भाइलाई समेत पठाएर चरित्र हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । 

काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ४५ बजे