झ्याप्लेखोलाबाट २५ शव निकालियो

राष्ट्र बैङ्कले २२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै 

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैङ्कले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । 

उक्त ट्रेजरी बिल मङ्गलवार जारी हुने र आज दिउँसो ३ः०० बजे बोलकबोल गरिने छ । 

यसैगरी, केन्द्रीय बैङ्कले २८ दिनको लागि ३ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख २८ गते परिपक्व हुनेछ  । ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असार २६ गते परिपक्व हुनेछ ।

यता, १८२ दिनको लागि ६ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असोज २३ परिपक्व हुनेछ । 

त्यस्तै, एक वर्ष अर्थात् ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० चैत २७ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । 

बैङ्कका अनुसार सबै वर्गका बैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : ५५ बजे