ब्राजिलमा राज्यशक्तिमाथि आक्रमण गरेको आरोपमा छसय पचासभन्दा बढीविरुद्ध मुद्दा दायर

ब्रासिलिया – ब्राजिलको ब्रासिलियामा जनवरी ८ मा राज्यका विभिन्न निकायमाथि आक्रमणमा संलग्न भएको अभियोगमा ६५३ जनाविरूछ मुद्दा दायर गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । 

    पूर्वराष्ट्रपति जायर बोल्सोनारोका १५२ जना अनुयायीको नयाँ समूहविरुद्ध कारबाही सुरु गरिएको कार्यालयले जनाएको छ । “उनीहरूलाई ब्रासिलियाको सेनाको मुख्यालय अगाडिको शिविरमा हिरासतमा राखिएको छ,” अभियोजकको कार्यालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    गत अक्टोबरमा लुइज इनासियो लुला डा सिल्भा राष्ट्रपतिमा निर्वाचित भएपछि बोल्सोनारोका समर्थकले शिविर स्थापना गरेका थिए । उक्त समूहमाथि आपराधिक संलग्नता र संवैधानिक निकायविरुद्ध सशस्त्र बललाई उक्साएको आरोप लागेको छ ।

    पक्राउ पर्नेमा राष्ट्रपति भवन, संसद र सर्वोच्च अदालतमा भएको आक्रमणको समयमा ब्रासिलियाको संघीय जिल्लाको सुरक्षा सचिवको रूपमा काम गरेका पूर्वन्यायमन्त्री एन्डरसन टोरेस पनि रहनुभएको छ । 

रासस/सिन्ह्वा

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ६ : ०० बजे