पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ९ वर्षकै न्यून स्तरमा, १८ दिनको मात्रै आयात धान्न पुग्ने

इस्लामावाद (पाकिस्तान) । पाकिस्तानको विदेशी मुद्रा भण्डार थप सुकेको छ । जनवरी २७ मा सकिएको एक हप्तामा सञ्चिति ३ अर्ब ९ करोड डलर मात्रै छ । यो एक हप्ता अघिको भन्दा १६ दशमलव १ प्रतिशत कम भएको स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले बिहीवार भनेको छ । यो सञ्चितिले तीन हप्ताभन्दा कम समयको मात्रै आयात धान्न पुग्ने एसबीपीको भनाई छ । बाह्य ऋणको पुनःभुक्तानीका कारण सञ्चिति समीक्षा अवधिमा ५९ करोड २० लाख डलरले घटेको बैंकको भनाई छ ।

पाकिस्तान छिमेकी देश वा सहयोगी राष्ट्रहरुसँग मागेर होस् वा ऋण नै लिएर भएपनि विदेशी मुद्राको जोहो गर्न चाहन्छ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषसँगको पाकिस्तानको वित्तीय उद्धार वार्ता रोकिएको छ ।

कोषलाई खुसी बनाउन अनि उसँग रोकिएको वार्ता सुचारु गर्न पाकिस्तानले हालै मात्रै २ खर्ब रुपया बराबरको अतिरिक्त कर उठाउन विधेयक पारित गरेको थियो ।

वाणिज्य बैंकहरूसँगको सञ्चिति ५ अर्ब ६५ करोड डलर छ । यसको अर्थ पाकिस्तानको कूल तरल सञ्चिति ८ अर्ब ७४ करोड डलर छ । सञ्चिति अहिले सन् २०१४ को फेब्रुअरी यताकै न्यून स्तरमा झरेको छ । यसले १८ दिनको आयात मात्रै धान्न पुग्ने बताइएको छ । अहिले पाकिस्तानलाई विदेशी मुद्राको प्रवाहको अति नै खाँचो छ ।

सकेसम्म छिटो कोषको वित्तीय उद्धारको बापतको रकम प्रवाह सुचारु गर्न आवश्यक छ । ७ अर्ब डलर बराबरको वित्तीय उद्धारबारे कोषसँग रोकिएको वार्ता सुचारु गर्न मंगलवार मात्रै पाकिस्तानले कोषसँग वार्ता गरेको थियो । यो वार्ता फेब्रुअरी ९ सम्म चल्ने छ ।

कोषले भुक्तानी सन्तुलन संकटको सामना गरिरहेका देशहरूलाई सघाउन भने एक्सटेन्डेड फन्ड फ्याशिलीटी उपलब्ध गराउँदै आएको छ । तर, वित्तीय उद्धार सुचारु गर्न कोषले पाकिस्तान सरकारसमक्ष स्थानीय मुद्राका लागि बजारले निर्धारण गर्ने विनिमय दर राख्नेदेखि इन्धनमा अुनदान घटाउनलगायत अनेकौं शर्तहरू राखेको छ ।

एसबीपीले हालै मात्रै विनिमय दरमा लगाएको सीमा हटाएको थियो भने इन्धनको भाउ पनि प्रतिलिटर ११ प्रतिशतले बढाएको थियो । अन्तरबैंक कारोबारमा बिहीवार डलरको तुलनामा रुपयाको भाउ शून्य दशमलव ९३ प्रतिशतले घटेर २७१ रुपया ३६ पैसाको कीर्तिमानी न्यून स्तरमा झरेको थियो । खुला बजारमा पनि रुपयाको भाउ शून्य दशमलव १८ प्रतिशतले घटेको थियो । समग्रमा गएको चालू आवमा डलरको तुलनामा रुपयाको भाउ २४ दशमलव ५१ प्रतिशतले घटिसकेको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : २० बजे