आर्मेनियाको सैनिक ब्यारेकमा आगो लाग्दा पन्ध्र जनाको निधन

येरेभान । आर्मेनियाको सैनिक ब्यारेकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । देशको पूर्वी गेघरकुनिक क्षेत्रको अजात गाउँमा बिहीबार ९ बिहान आगलागी हुँदा ती सैनिक मारिएका हुन् ।

प्रारम्भिक जानकारी अनुसार सैन्य इकाईको इन्जिनियर र स्नाइपर कम्पनीको ब्यारेकमा भएको आगलागीको कारण खुलिनसकेको उक्त मन्त्रालयले बताएको छ । गत अगस्टमा राजधानी येरेभानको व्यस्त बजारमा विष्फोट र त्यसपछि भएको आगलागीमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । 

करिब ३० लाख जनसङ्ख्या भएको आर्मेनिया सन् २०२० मा अजरबैजानसँग भएको  युद्धबाट नासिएका भौतिक संरचनालगायत पूर्वाधार पुनः निर्माणमा लागेको छ । युद्धमा  पराजय भोगेपछि राजनीतिक सङ्कट उत्पन्न हुँदा कठिन अवस्थाबाट आर्मेनिया गुज्रिरहेको छ । युद्ध अन्त्य भए पनि आर्मेनिया र अजरबैजानका सीमा क्षेत्रमा तनाव जारी छ । 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १२ : ५७ बजे