चीनमा पहिलो पटक जनसङ्ख्या घट्यो

बेइजिङ – चीनमा दशकौँपछि पहिले पटक जनसङ्ख्या घट्दोक्रममा देखिएको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोले मङ्गलबार  सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा  आठ लाख पचास हजार जनसङ्ख्या कम पाइएको छ ।

यो सङ्ख्यामा हङकङ, मकाउ र विदेश रहेका बासिन्दाहरू बाहेक मुख्य भूमि चीनमा मात्र रहेको जनसङ्ख्या  हो । यहाँ गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो भने  ९० लाख  ५६ हजार  नवजात जनसङ्ख्या  रहेको थियो।  यो सँगै कुल जनसङ्ख्या १.४१ अर्ब  रहेको छ ।  कुल जनसङ्ख्यामा पुरुषको सङ्ख्या ७२ करोड र महिलाको सङ्ख्या ६८ करोडको हाराहारीमा पुगेको छ ।  
जनसङ्ख्यामा देखिएको यो गिरावट देशले अङ्गीकार गरेको एक सन्तानको कडा नीतिको परिणाम रहेको बताइएको छ । 

पछिल्लो समय चीनले एक सन्तानको नीति त्यागेर दुई वा तीन सन्तान जन्माउन प्रोत्साहन गर्न खोजेको छ तर त्यो नीति पनि त्यति प्रभावकारी देखिएको छैन । जनसङ्ख्यामा आएको यो गिरावटमा अर्को मुख्य कारक तत्त्वकारूपमा शहरी क्षेत्रमा बालबालिका हुर्काउने लाग्ने खर्चलाई पनि लिने गरिएको छ । 

चीन लामो समयदेखि विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र बनेको छ  यद्यपि  भारतले  चीनलाई  छिट्टै उछिन्ने अपेक्षा गरिएको छ ।

हाल भारतको जनसङ्ख्या १.४ अर्बभन्दा बढी रहेको र बढ्दै गइरहेको छ।

रासस-एपी

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : १९ बजे