भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

चीनबाट हुने यात्रामाथि नियन्त्रण गर्न युरोपेली देशहरूलाई सिफारिस

काठमाडौँ । विपद्‌ नियन्त्रणसम्बन्धी युरोपेली सङ्घका अधिकारीहरूले कोभिड सङ्क्रमण निकै बढिरहेको चीनबाट आउने यात्रीहरूको यात्रामाथि नियन्त्रण गर्न सिफारिस गरेका छन्।

चीनबाट प्रस्थान गर्नुअघि कोभिड परीक्षण गराइएको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने, आगमनका बेला पनि आक्कलझुक्कल परीक्षण गराउनुपर्ने र उडान अवधिमा मास्क लगाउनुपर्ने लगायतका व्यवस्था निर्देशिकामा समेटिएको छ।

बिबिसीका अनुसार हवाई यात्राका क्रममा प्रयोग भएको पानीमा पनि भाइरसबारे परीक्षण गर्न विज्ञहरूको सुझाव छ। यो अभ्यास जर्मनीस्थित फ्र्याङ्कफर्ट विमानस्थलले हालै सुरु गरिसकेको छ।

युरोपेली सङ्घका बहुमत सदस्य राष्ट्रहरू यात्रामा प्रतिबन्ध लगाउने पक्षमा रहेको कुरा युरोपेली आयोगले बताएको भोलिपल्ट पछिल्लो सिफारिस आएको छ।

कोभिड शून्य नीति हटाउने योजनाअन्तर्गत आइतबारदेखि चीनबाट र चीनमा गरिने यात्रा सहज पारिएको छ। चीनले अहिले व्यापक स्तरमा कोरोना भाइरस सङ्क्रमणको सामना गरिरहेको छ। बिरामीको चापले अस्पतालहरूमाथि र शवहरूको चापले शव गृहमाथि दबाब परेका विवरण आएका छन्।

युरोपेली सङ्घमा आबद्ध फ्रान्स, स्पेन र इटलीले यसअघि नै चीनबाट आउने यात्रुहरूको हकमा कोभिड परीक्षणको नियम लागु गरिसकेका छन्।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चीनमा कोभिडको नयाँ भेरिअन्ट देखिएको प्रमाण नपाइएको जनाएको छ। यद्यपि चिनियाँ अधिकारीहरूले कोभिडको असरलाई कम आँकिरहेको हुनसक्ने भन्दै उसले सचेत गराएको छ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ८ : ३१ बजे