भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

पूर्वप्रमुख पादरी बेनेडिक्टको निधनमा अमेरिकी राष्ट्रपतिद्वारा शोक प्रकट

वासिङ्टन। अमेरिकाका राष्ट्रपति जो बाइडेनले संसारभरका क्याथोलिक गिर्जाघरका पूर्वप्रमुख पादरी बेनेडिक्टको सोह्रौँको असामयिक निधन भएकामा शोक प्रकट गर्नुभएको छ । पञ्चानब्बे वर्षको उमेरमा शनिबार बिहान भ्याटिकनको मेटर इक्लेसिया मठमा उहाँको निधन भएको हो ।

पूर्वप्रमुख पादरी बेनेडिक्टले इसाई धर्मको पुनर्जागरणका निम्ति गर्नुभएको योगदान र गिर्जाघरप्रतिको उहाँको समर्पणको अमेरिकी राष्ट्रपतिले प्रशंसा गर्नुभएको छ । धर्मपत्नी जिलसहित विश्वभरका इसाई धर्मावलम्बीप्रति अमेरिकी राष्ट्रपतिले शोक व्यक्त गर्दै उनीहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ । शोक सन्देशमा अमेरिकी राष्ट्रपतिले पादरी बेनेडिक्ट एक निष्ठावान् व्यक्ति हुनुहुन्थ्यो भन्दै उहाँका सिद्धान्तहरूलाई विश्वले सधैँ सम्झने बताउनुभएको छ । 

सन् २०१३ मा उहाँले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा गर्नुभएको थियो । छ सय वर्षपछि पदबाट त्यसरी राजीनामा गर्ने उहाँ पहिलो प्रमुख पादरी हुनुहुन्थ्यो । त्यस बेला उहाँले एक अर्ब २० करोड क्याथोलिकका गिर्जाघर सम्हाल्ने शक्ति आफूमा नरहेको घोषणा गर्दै पदबाट बाहिरिनु भएको थियो ।  

जर्मनीका लजालु धर्मशास्त्री बेनेडिक्टले धर्मनिरपेक्ष युरोपमा इसाई धर्मलाई पुनजागृत गर्ने प्रयास गर्नुभएको थियो । आगामी बिहीबार पोप फ्रान्सिसको अगुवाईमा सेन्ट पिटर स्क्वायरमा उहाँको अन्त्येष्टि हुनेछ । सोमबारदेखि उहाँको शव सेन्ट पिटरको बासिलिकामा श्रद्धाञ्जलिका निम्ति राखिने भ्याटिकनले जनाएको छ । 

विश्वका विभिन्न देशका नेताहरूले पूर्वपोपको निधनमा गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् । 
 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : ५४ बजे