झ्याप्लेखोलाबाट २५ शव निकालियो

युक्रेनको १८ प्रतिशत भूभाग आजदेखि रुसमा गाभिँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रवार युक्रेनका थप चारवटा क्षेत्रलाई आफ्नो देशमा गाभ्ने उद्देश्यले एउटा हस्ताक्षर समारोह आयोजना गर्ने भएका छन्।

रुसी नियन्त्रणमा रहेका ती क्षेत्रमा भएको भनिएको जनमतसङ्ग्रहपछि पुटिनले उक्त विलयसम्बन्धी समारोहको गर्न लागेका हुन्।

रुसले जनमतसङ्ग्रह भनेको उक्त मतदानलाई युक्रेन र पश्चिमा राष्ट्रहरूले "छद्म" भनी निन्दा गरिरहेका छन्।

रुसी कब्जामा रहेका ती क्षेत्रमा रुस-समर्थित अधिकारीहरूले यसअघि पाँच दिन भएको मतदातपछि "लगभग पूर्ण जनसमर्थन रुसमा गाभिने पक्षमा गएको" दाबी गरेका थिए।

स्वघोषित तर अन्तर्राष्ट्रिय मान्यता नपाएका युक्रेनबाट टुक्रिएका डोनेट्स्क र लुहान्स्कका पूर्वी क्षेत्रहरूमा मतदान भएको थियो।

जापोरीजा र खेअर्सनको दक्षिणी क्षेत्रका रुसी कब्जामा रहेका भागहरूमा पनि मतदान गराइएको थियो।

रुसी राष्ट्रपतिले शुक्रवार क्रेम्लिनमा मुख्य मन्तव्य दिनेछन्। मस्कोको रेड स्क्वेअरमा पहिले नै एउटा मञ्च तयार पारिएको छ।

ती चारवटा क्षेत्रलाई रुसी भूभागको रूपमा घोषणा गर्ने बिलबोर्डहरू तयार छन् र साँझमा साङ्गीतिक कार्यक्रम पनि हुनेछ।

यो तयारीले सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नो देशमा गाभेको घटनाको झल्को दिएको छ।

त्यस बेला पनि एउटा अन्तर्राष्ट्रिय मान्यता नपाएको जनमतसङ्ग्रहपछि ती क्षेत्रलाई रुसमा गाभिएको घोषणा गरिएको थियो।

त्यस बेला राष्ट्रपतिले हस्ताक्षर गरेपछि संसद्‌मा राष्ट्रपतिले लडाइँमा विजयी भएको मन्तव्य दिएका थिए र ती क्षेत्र आफ्नो देशका अङ्ग भएको घोषणा गरिएको थियो।

उक्त विलयलाई अधिकांश अन्तर्राष्ट्रिय समुदायको हालसम्म मान्यता दिएको छैन।

युक्रेन के भन्छ?

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले "छद्म जनमतसङ्ग्रह"को कुनै अर्थ नभएको र त्यसले वास्तविकतालाई परिवर्तन नगरेको बताए।

उनले भने, "युक्रेनले आफ्नो क्षेत्रीय अखण्डतालाई पुनर्स्थापित गर्नेछ र रुसले त्यो परिणाम (जनमतसङ्ग्रह) लाई मान्यता दिँदा हाम्रो प्रतिक्रिया धेरै कठोर हुनेछ।"

रुसले भन्ने गरेको मतदान प्रक्रियाको कुनै स्वतन्त्र अनुगमन भएन र निर्वाचन अधिकारीहरू सशस्त्र सैनिकले घेरिएर घरघरमा गएको तस्बिरहरूमा देखिएको थियो।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीवार भनेका थिए, "भोलि दिउँसो ३ बजे ग्रान्ड क्रेम्लिन प्यालेसको सेन्ट जोर्ज हलमा नयाँ क्षेत्रलाई रुसमा समावेश गर्ने सम्बन्धमा हस्ताक्षर समारोह आयोजना गरिनेछ।"

त्यो कार्यक्रममा पूर्वी क्षेत्रका दुईजना रुस-समर्थित पृथक्तावादी नेता र दक्षिणबाट रुसले नियुक्त गरेका दुई अधिकारीसँग छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर हुनेछ।

क्राइमियाका बेलामा जस्तै रुसी संसद्का दुवै सदनले अर्को साता औपचारिक रूपमा विलयसम्बन्धी सन्धिलाई अनुमोदन गर्नेछन्।

पुटिनले आफ्नो ७० औँ जन्मदिनको तीन दिनअघि अक्टोबर ४ मा संसद्को माथिल्लो सदनलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

अमेरिकी चेतावनी

अमेरिकाले 'छद्म जनमतसङ्ग्रह'का कारण रुसमाथि थप प्रतिबन्ध लगाउने बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनी भूभागमा गरेको उसको दाबीलाई कहिल्यै पनि मान्यता नदिने स्पष्ट पारेका छन्।

मस्कोले आफूले कब्जा गरेका चारवटा क्षेत्रलाई विलय गर्ने घोषणा गर्ने तयारी गरिरहेका बेला उनको यस्तो भनाइ आएको हो।

बाइडनले रुसले साम्राज्यवादी महत्वाकाङ्क्षा लिएको आरोप लगाए र उसले रुसी नियन्त्रणमा रहेका युक्रेनी भूभागमा गरेको जनमतसङ्ग्रहलाई पूर्णत: "छद्म कार्य" भएको बताए।

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले पनि रुसलाई आफ्नो विलय योजनाबाट पछि हट्न आग्रह गरेका थिए।

उनले त्यस्तो विलयले सङ्कट थप बढाउने र आधुनिक युगमा त्यस्तो कार्यका लागि कुनै स्थान नभएको भनेका थिए।

ईयूका सदस्यराष्ट्रहरूले मतदान गराउन संलग्न जोसुकैमाथि प्रतिबन्धसहित आठौँ चरणको प्रतिबन्धबारे विचार गरिरहेको बताएका छन्।

जर्मनीकी विदेशमन्त्रीले बिहीवार रुसी कब्जामा रहेको युक्रेनी भागमा रहेका मानिसहरूलाई उनीहरूको घर र कार्यस्थलबाट धम्की दिएर र कहिलेकाहीँ गोली प्रहार गरेर जबरजस्ती मत हाल्न लगिएको बताएकी थिइन्।

उनले त्यसैले उक्त जनमतसङ्ग्रह स्वतन्त्र र निष्पक्ष नभएको दाबी गरिन्। वीवीसी 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १२ : ४७ बजे