झ्याप्लेखोलाबाट २५ शव निकालियो

विहारमा चट्याङ लागेर एक्काइ जनाको मृत्यु

नयाँदिल्ली ।  भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले आज टेलिफोनमा पुष्टि गरेका छन् । कृषिकर्ममा व्यस्त भएका बेला उनीहरूको ज्यान गएको हो । 

विहारका १० जिल्लामा चट्याङ लागेर सर्वसाधारणको मृत्यु भएको बताउँदै उनले पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएका जानकारी दिएका छन् ।

यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । साथै उहाँले राज्यवासी सबैलाई सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा  विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न आग्रह गर्नुभएको छ । 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  २ : १३ बजे