झ्याप्लेखोलाबाट २५ शव निकालियो

चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु आज नेपाल आउनुहुँदै

काठमाडौँ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शु आजदेखि नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अध्यक्ष झान्शु यही सेप्टेम्बर १२ देखि १५ तारिख (भदौ २७ देखि ३० गते) सम्म नेपालको औपचारिक भ्रमणका लागि आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उहाँ आज अपराह्न विशेष विमानबाट काठमाडौँ आइपुग्नु हुनेछ । सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नुहुनेछ ।

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेप्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेप्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । 

यसैगरी सोही दिन उहाँले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ भने परराष्ट्र मन्त्री डा नारायण खड्काले उहाँसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।

त्यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उहाँको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

अध्यक्ष झान्शु यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : ४३ बजे