झ्याप्लेखोलाबाट २५ शव निकालियो

लमजुङका किसानलाई कोदो रोप्ने चटारो

लमजुङ  ।  लमजुङमा कोदो रोप्न सुरु भएको छ ।  रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त समय सुरु हुन थालेसँगै एक हप्ता अघिदेखि कोदो रोप्न थालेका छन् ।  

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार एक हप्तादेखि जिल्लाभर नै किसानले कोदो रोप्न थालेका छन् । 

जिल्लामा सबैभन्दा बढी दूध पोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मध्य नेपाल नगरपालिका क्षेत्रमा कोदो उत्पादन हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म ४५ प्रतिशत कोदो रोपी सकिएको जिल्लामा समयमै पानी परेर धान पनि छिटो रोपेकाले किसानले कोदो रोप्ने समय पाएका छन् । 

यहाँका किसान बिहान बेलुका घरमा भए पनि दिउँसो खेतबारीमै कोदो रोप्न व्यस्त भइरहेका छन् ।

मर्स्याङ्दी गाउँपालिका–६ लामपाटा गाउँकी दिलमाया तामाङ पनि केही दिनदेखि  कोदो रोप्न बारीमा व्यस्त  छन्  । “धान रोपिसकेर कोदो रोप्न थालेका छौँ, अहिले बिहान र बेलुका मात्र घरमा हुन्छौँ, दिउँसो बारीमा जान्छौँ, घरमा हुने बेला पनि चासो बारीमै हुने गरेको छ”, उहाँले भन्नुभयो ।

हरेक वर्ष करिब पाँच सय मुरीभन्दा बढी कोदो उत्पादन हुने यस गाउँमा हालसम्म ३० प्रतिशत रोपाइँ सम्पन्न भएको बेँसीसहर नगरपालिका–२ चिसो पानीका हिरासिंह गुरुङले बताउनुभयो ।

जिल्लाका किसानले ढल्लो, स्थानीय र ओख्ले कोदोको बीउ लगाउने गरे पनि सबैभन्दा बढी स्थानीय कोदोको बीउ रोप्ने गरेको केन्द्रले जनाएको छ । 

जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापु लगायतका गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ । जिल्लामा सात हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा कोदो लगाइँदै आएको छ । करिब ६ हजार १ सय ६० मेट्रिक टन कोदो उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : १३ बजे