झ्याप्लेखोलाबाट २५ शव निकालियो

देशलाई आर्थिक मन्दीबाट बचाउन खाद्य उत्पादनमा आत्मनिर्भर हुनुपर्छ : अध्यक्ष ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रलाई मन्दीबाट बचाउन आधारभूत खाद्यवस्तुको उत्पादनमा आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । 

उहाँले खाद्य उत्पादनमा आत्मनिर्भर हुन सकियो भने बेला–बेलामा दुनियाँमा आउने आर्थिक मन्दीले कुनै असर नगर्ने बताउनुभयो । 

पार्टीको कृषि तथा पशुपक्षी विकास विभागको बैठकलाई आइतबार निर्देशनात्मक सम्बोधन गर्दै अध्यक्षले नीति बनाउँदा कृषिमा क्रान्ति ल्याउने योजनाका साथ जानुपर्ने बताउनुभयो । 

“हाम्रो कृषि नीति खाद्यान्नमा आत्मनिर्भर हुने र उच्च मूल्य दिने कृषि उत्पादनमा ध्यान दिने हुनुपर्छ”, अध्यक्षले भन्नुभयो, “‘एमालेले बनाउने नीति पार्टीको मात्र नभई त्यसले राष्ट्रकै नीतिलाई मार्गदर्शन गर्ने भएकाले नीति निर्माण गर्दा गहन अध्ययन, छलफल र बहस चलाई बुनाउनुपर्छ ।”

​​​​​​​

कृषि प्रधान देश नेपालमा ६० प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर रहेको तर राष्ट्रिय उत्पादनमा यसको योगदान कम रहेको चर्चा गर्दै अध्यक्ष ओलीले उत्पादन वृद्धिमा जोड दिए पनि राष्ट्रिय अर्थतन्त्रमा भने कृषि क्षेत्रको योगदान कम र अन्य क्षेत्रको बढी हुनुपर्छ भन्नुभयो । 

“कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण  गरी पहिले खाद्यवस्तुमा आत्मनिर्भर बनौँ, कमसेकम चामल, गहुँ, पीठो आयात नगर्ने अवस्थामा पुगौँ, त्यति गर्न सक्यौँ भने व्यापार असन्तुलन, व्यापार घाटा कम गर्न सकिन्छ, विदेशी मुद्रा संचितीमा सहयोग पुग्छ ।  त्यसपछि निर्याततर्फ सोचौँला ।”, अध्यक्ष  ओलीले भन्नुभयो ।कृषिको आधुनिकीकरण गर्दा मेसिन र औजारको मात्र भर परी जनशक्ति परिचालनलाई छोड्न नहुने उहाँको भनाइ थियो । 

“मेशिनले कुनै पनि बेला धोका दिन सक्छ । त्यस कारण जनशक्ति परिचालनलाई पनि सँगसँगै लैजानुपर्छ । हामीकहाँ ६० प्रतिशत काम गरिरहेको जनशक्ति र ४० प्रतिशत युवा जनशक्ति रहेकाले उत्पादनका लागि जनशक्तिको अभाव छैन । मामको लागि कामको खोजीमा खाडी मुलुक जाने कुरालाई हतोत्साहित गर्नुपर्छ । कृषिसँगै हरेक क्षेत्रमा दुनियाँसँग प्रतिस्पर्धा गर्न सक्ने योग्य जनशक्ति तयार गर्नुपर्छ ।”, उहाँले भन्नुभयो ।

“नेपालमा ५८ लाख हेक्टर कृषियोग्य जमिन छ ।  वनस्पति र जीवका लागि अनुकूल धर्ती छ । असाधारण प्रकृति पाएका छौँ ।”,  अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रो गन्तव्य अर्ग्यानिक कृषि उत्पादन हो । तर, यति वेला नेपाली माटो विषादी प्रयोगका कारण अत्यन्त बिरामी अवस्थामा छ, माटोको उपचार नगरी अर्ग्यानिक खेतीको गन्तव्यमा जान सकिँदैन ।”

डार्विनको विकासवादी सिद्धान्त पछ्याउँदा हामीलाई ढिलो हुनसक्छ भन्नुहुँदै उहाँले हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियान सुरु गरेका छौँ, त्यो  सङ्कल्प पूरा गर्न तीव्र विकास चाहिएको बताउनुभयो ।

उहाँले विकासका लागि पहिले मानिसलाई पेटको चिन्ताबाट मुक्त गर्नुपर्ने बताउनुभयो ।  “मानिस पेटको समस्याले कुदेको कुदै छ भने उसको दिमागले अरू कुरा कसरी सोच्न सक्छ? त्यसैले नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षालाई सुनिश्चित गरिनुपर्छ ।” उहाँले भन्नुभयो ।

“जीवन जिउनका लागि हावा, पानी र खाना तीन चिज नभई नहुने चिज हुन्, त्यसैले खाद्य अधिकार मानवअधिकारको सबैभन्दा आधारभूत कुरा पनि हो”, उहाँले भन्नुभयो । 

मानिस बाँच्नका लागि खाना नभई नहुने हुँदा दुनियाँमा कृषि उपजले बजार नपाउने हुँदैन भन्नुहुँदै त्यसका लागि ठुलो परिणाममा उत्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले निर्यात गर्दा पनि कृषि उत्पादनमा आधारित उद्योग स्थापना गरी भ्यालु एडेड वस्तु निर्यातमा ध्यान दिई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

नेपालमा एक परिवारका लागि एक हेक्टर बराबर कृषियोग्य जमिन रहेको र यो कृषिका लागि पर्याप्त नै हुने चर्चा गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “जमिन थपिँदैन, जमिनको उत्पादकत्व वृद्धि गर्ने हो । कहाँ के उत्पादन राम्रो हुन्छ त्यस अनुसार कृषि गर्नुपर्छ । हामीलाई प्रकृतिले दिएको कुनै पनि जमिन खेर जाने खालको छैन । ”

“कृषि उत्पादनमा रासायनिक मल, विषादी होइन, आधुनिक, नवीनतम प्रविधिको प्रयोग गरौँ । माटो अनुसारको खेतीमा ध्यान दिऊँ ।”, उहाँले भन्नुभयो, “हामी निरोगी नेपाल बनाउन चाहन्छौँ । त्यस कारण, स्वस्थ जीवनका लागि स्वस्थ खाना आवश्यक पर्छ । त्यसका लागि कमसेकम सागसब्जी आफै उत्पादन गर्ने गरौँ । शरीरलाई विषादी चाहिँदैन । विषादी नभएको सागसब्जी उत्पादन अभियान चलाऔँ । आफ्नै स्वास्थ्यका लागि सागसब्जी आफै उत्पादन गरेर गर्व गरौँ । जमिन हुनेले जमिनमा र जमिन नहुनेले गमलामा लगाए पनि पुग्छ ।”

अहिले फूलको बीउ पनि आयात हुने गरेको र त्यो फूलको बीउ हामीले राख्न नसकिने, नरहने हुँदा बीउका लागि हरेक वर्ष अर्काको भर पर्नुपर्ने अवस्थाको चर्चा गर्दै उहाँले कृषि उपजका बीउ बिजन आफै विकास र संरक्षण गरी त्यसको ‘पेटेन्ट राइट’ हाम्रो हातमा राख्नुपर्ने बताउनुभयो । उहाँले परम्परागत बीउ विजन नासिएर अर्काको भर पर्ने अवस्थामा पुग्न नहुने बताउनुभयो ।  

अध्यक्ष ओलीले  पार्टीका केन्द्रीय विभागहरूले नीति निर्माणमा सहयोग पुग्ने गरी काम गर्नुपर्ने बताउँदै कृषि तथा पशुपक्षी विकास विभागलाई पनि त्यस दिशामा ध्यान दिन निर्देशन दिनुभयो । 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ९ : ५२ बजे