झ्याप्लेखोलाबाट २५ शव निकालियो

नयाँदिल्लीमा पनि मङ्कीपक्सका बिरामी

नयाँदिल्ली । यहाँ मङ्कीपक्सका एकजना बिरामी फेला परेका छन् । राजधानी शहरमा  यो रोगका बिरामी पहिलोटक भेटिएका हुन् । योसँगै मङ्कीपक्सका लागेका बिरामीको सङ्ख्या चार पुगेको छ । यसअघि दक्षिणी राज्य केरलामा तीन जनामा यो रोग लागेको पुष्टि भएको थियो । आज रोग पुष्टि भएका बिरामीलाई सरकारी अस्पताल भर्ना गरिएको छ । उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन् ।  अस्पतालका अनुसार बिरामीलाई ज्वरो र छालामा घाउ देखिएको भए पनि अवस्था स्थिर छ । यसअघि रोग पुष्टि भएका बिरामी विदेशबाट आएका थिए । 

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ताको विषय बनेको बताउँदै शनिबार विश्वव्यापी जनस्वास्थ्य आपत्कालीन घोषणा गरेको थियो । उक्त सङ्गठनका अनुसार यो रोग सङ्क्रमित जनावरबाट अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्छ जसले छालामा खटिराजस्ता देखिने घाउ बनाउँछ । 

हालसम्म विश्वका ७५ देशमा मङ्कीपक्सका १६हजारभन्दा बढी बिरामी भेटिएका छन् भने पाँच जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ३ : ५१ बजे