झ्याप्लेखोलाबाट २५ शव निकालियो

मकैको बीउ बिक्रीबाटै मनग्य आम्दानी

वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष २०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बीउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत एघार वर्षअघिदेखि सो जातको मकैको बीउ उत्पादन गर्दै आएको समूहकी अध्यक्ष सङ्गीता हमालले बताउनुभयो ।

“विगत एघार वर्षदेखि ‘मनकामना–३’ जातको मकैको बीउ उत्पादन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा १६ हजार ६४१ केजी मकैको बीउ प्रतिकेजी रु एकसयका दरले बिक्री गरेका हौँ ।” २०७८/७९ मा साढे १६ टन मकैको बीउ बिक्री गरेको समूहले २०७७/७८ मा १० टन बीउ बिक्री गरी रु नौ लाख आम्दानी गरेको थियो ।

“स्याङ्जासहित देशका विभिन्न ठाउँबाट यहाँ उत्पादन गरिएको ‘मनकामना–३’ जातको मकैको बीउको माग अत्याधिक छ, मागअनुसार पु¥याउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “यसवर्ष करिब २० टन बीउ उत्पादन हुने अनुमान गरेका थियौँ तर खडेरीकाकारण अपेक्षाअनुसार बीउ उत्पादन हुन सकेन ।”

यहाँ उत्पादन भएको बीउ स्याङ्जाका स्थानीय बजारसहित पोखरा, चितवन, गोरखा, लमजुङलगायत ठाउँमा जाने गरेको समूहकी कोषाध्यक्ष कल्पना पौडेलले बताउनुभयो । यहाँ उत्पादन भएको बीउ मकै स्याङ्जा जिल्लाभित्रका कृषिसँग सम्बन्धित कार्यालय, सङ्घसंस्था, कृषि एग्रोभेट र जिल्लाबाहिरबाट पनि माग हुने गरेकाले खपतको कुनै समस्या नभएको समूहकी कोषाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

उत्पादन भएको मकैको बीउको नमूना प्रयोगशालामा पठाएर उमारशक्ति, चिस्यान र शुद्धता परीक्षण गरिन्छ । परीक्षणमा योग्य भएपछि घरघरमा रहेको मकैलाई सङ्कलन केन्द्रमा ल्याएर समूहमार्फत एकमुष्ट बीउको प्रयोजनका लागि समूहमार्फत बिक्री गरिँदै आएको छ ।

यहाँ उत्पादन भएको बीउ मकै सुुरुआतको चरणदेखि हालसम्म गुणस्तरीयता परीक्षणका क्रममा र रोपेपछि उत्पादन लिने बेलासम्म कमजोरी नदेखिएको दाबी समूहको छ ।

मकैको बीउ उत्पादन गर्दै आएको उक्त ठाउँमा बाँदरको समस्या भएकाले आलोपालो गरेर बाँदर कुर्ने/धपाउने चारजनालाई समूहले पुरस्कृतसमेत गरेको छ । जैंसीडाँडा किसान समूहले गण्डकी प्रदेशकै सबैभन्दा धेरै उन्नत मकैको बीउ उत्पादन गर्दै आएको दाबी गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीको छ ।

उन्नत जातको मकैको बीउ उत्पादन गर्दै आएको जैंसीडाँडा किसान समूहलाई विगत चार वर्षदेखि गाउँपालिकाले उत्पादनमा आधारित १५ प्रतिशत नगद अनुदान उपलब्ध गराउँदै आएको छ । 

गाउँपालिकाले पटक–पटक गरी हालसम्म विभिन्न उपकरण खरिद, भण्डारका लागि आवश्यक सामग्री, तालीमका लागि पचास लाख बढी नगद अनुदान दिएको गाउँपालिकाका अध्यक्ष सुवेदीले बताउनुभयो । आरुखर्कमा उन्नत मकैको बीउ उत्पादन राम्रो भएकाले वडा नं ३ को भाटखोलास्थित लोलासरी किसान समूहलाई ‘मनकामना–५’ जातको उन्नत मकैको बीउ उत्पादनको पकेट क्षेत्रका रुपमा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।

 भर्खरै सुरुआत भएको उक्त पकेट क्षेत्रका लागि गाउँपालिकाले रु २५ लाख अनुदान उपलब्ध गराएको छ । “व्यावसायिक उत्पादनमा जोड दिँदै गाउँपालिकाले विगत चार वर्षदेखि उत्पादनमा आधारित कृषिजन्य उत्पादनमा १५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ”, अध्यक्ष सुबेदीले भन्नुभयो, “गाउँपालिकाले २५ वटा कृषिजन्य उत्पादनको सूची नै बनाएर १५ प्रतिशतका दरले अनुदान उपलब्ध गराईरहेको छ ।”
 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १ : ३० बजे