झ्याप्लेखोलाबाट २५ शव निकालियो

अघि बढ्यो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया

काठमाडौँ – सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल अघि बढाउने निष्कर्ष निकाल्दै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।

निजगढ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतको अन्तिम फैसलापछि निर्माण प्रक्रिया अघि बढाउन विज्ञ समिति गठन गरेर थप अध्ययन गरी उपयुक्त स्थानमा विमानस्थल बनाउने गरी अघि बढिने मन्त्रालयले जनाएको छ ।

उक्त विमानस्थल निर्माण अघि बढाउनका लागि प्राधिकरणको बोर्ड बैठकले विज्ञ समिति गठन गर्ने निर्णय गरेको छ । पर्यटन मन्त्रालयले केही दिनभित्रै मन्त्रिपरिषद्‍मा उक्त प्रस्ताव लगेर विभिन्न विज्ञहरुको समितिलाई पूर्णता दिइने र सो समितिको प्रतिवेदनका आधारमा विमानस्थल निर्माण अघि बढाइने मन्त्रालयले जनाएको छ ।

सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै विज्ञहरुबाट थप अध्ययन गरी कमभन्दा कम वातावरणीय क्षति हुने गरी निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको र नेपालको पर्यटन क्षेत्रको विकासका लागि अपरिहार्य आयोजना हो । यो देशको अर्थतन्त्रमा गेमचेन्जर’ परियोजना भएकाले मन्त्रालयले उच्च प्राथमिकता दिएर सर्वोच्चको फैसलाअनुरूप निर्माण प्रक्रिया अघि बढाएका हौँ । फैसलाको विज्ञहरुबाट थप अध्ययन गराई आवश्यक निर्णय लिन्छौँ ।”

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत निजगढ विमानस्थल निर्माणका लागि प्रारम्भिक चरणमा रु एक खर्ब २० अर्ब लाग्ने अनुमान गरिएको छ । प्राधिकरणले यो परियोजनाको विस्तृत डिजाइन कार्य गरिरहेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा निर्माण मोडालिटीसम्बन्धी सिफारिस समितिले आवश्यक काम गरिरहेको छ ।

हालसम्म निजगढ विमानस्थलको नाममा आठ हजार ५० हेक्टर जग्गा अधिग्रहण गरिनुका साथै परियोजनाका लागि प्राधिकरणले रु तीन अर्ब खर्च गरिसकेको छ । परियोजनासँग जाोडिएको द्रूत मार्गमा सरकारले रु दुई खर्ब लगानी गरिसकेको छ ।

समितिका सभापति पवित्रा निरौला (खरेल) ले नेपालको विकास र आर्थिक समृद्धिका लागि महत्वपूर्ण आयोजना निजगढ विमानस्थल निर्माण प्रक्रिया शीघ्ररूपमा अघि बढाइनुपर्ने बताउनुभयो ।

उहाँले विगत २७ वर्षदेखि चर्चामा रहेको र धेरै विज्ञहरुले उपयुक्त ठह¥याएको निजगढ विमानस्थल निर्माणका लागि सर्वोच्चको पूर्ण फैसलालाई आत्मसाथ गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्रीसँग छलफल गरी समितिले आवश्यक निर्णय लिने जानकारी दिनुभयो ।

हालै प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष नेताहरुले निजगढ विमानस्थलको स्थलगत अवलोकन गरी विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन र दुई लेनको धावनमार्गसहितको अत्याधुनिक विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो ।

निजगढ विमानस्थलको कार्य प्रगति र आगामी योजनाबारे सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पर्यटनमन्त्री र प्राधिकरणका महानिर्देशकसँग निजगढ विमानस्थलको अवस्था र अबको कार्यदिशाबारे जानकारी लिएको हो ।

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ विमानस्थल निर्माणका लागि सर्वोच्च अदालतले बाटो खोलिदिएको भन्दै मन्त्रालय र मातहत निकायले अलमल नगरिकन निर्माण प्रक्रिया अघि बढाइनुपर्ने धारणा राख्नुभयो ।

उहाँले हालै प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीलगायत नेताहरुले निजगढ विमानस्थलको अवलोकन गरी स्थानीय सरकार र सरोकारवालासँग छलफल गरेको तथा प्रधानमन्त्रीले दुई लेनसहितको विमानस्थल बनाउन निर्देशन दिइसकेकाले आयोजना अघि बढाउन बिलम्ब गर्न नहुने उल्लेख गर्नुभयो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सर्वोच्च अदालतको अन्तिम फैसलाले निजगढ विमानस्थल निर्माणको हालसम्मको प्रक्रिया बदर गरेको र विज्ञ समिति गठन गरेर थप अध्ययन गरी उपयुक्त स्थानमा विमानस्थल बनाउन सन्देश दिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अदालतको आदेशअनुरूप प्राधिकरण बोर्ड बैठकले विज्ञ समिति गठन गर्ने निर्णय गरिसकेको छ । उक्त समितिमा रहने विज्ञहरुको नाम केही दिनभित्रै मन्त्रिपरिषद्‍मा पेश गरी समितिलाई पूर्णता दिइनेछ । उक्त समितिको अध्ययन प्रतिवेदनका आधारमा विमानस्थलको आगामी रणनीति तयार गरिने महानिर्देशक अधिकारीको भनाइ छ ।

सो अवसरमा समितिका सभापति निरौलाले समितिले यसअघि गरेका निर्यण कार्यान्वयनका लागि पर्यटनमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले निजगढ विमानस्थल सम्बन्धमा समिति गठनभएपश्चात पाँच पर्यटन मन्त्रीले नेतृत्व गरेर विमानस्थल बनाउने प्रतिबद्धता जनाएको तथा समितिले दुई वटा उपसमिति बनाएर स्थलगत अवलोकन गरेर प्रतिवेदन मन्त्रालयलाई बुझाएको जानकारी गराउनुभयो ।

सांसदहरु भीमबहादुर रावल, सुरेन्द्रकुमार कार्की, देवप्रकाश तिमल्सिना, चाँदताराकुमारी, पुष्पाकुमारी कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मोहन बानियाँ र रेनुका गुरुङले सबै हिसाबले उपयुक्त निजगढमा अत्याधुनिक सुविधायुक्त विमानस्थल निर्माण प्रक्रिया चाँडो अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ८ : १९ बजे