झ्याप्लेखोलाबाट २५ शव निकालियो

मनाङमा पहिलो पटक ३३–११ केभीको सबस्टेसन सञ्चालनमा

लमजुङ । मनाङमा ३३–११ केभीको सबस्टेसन सञ्चालनमा आएको छ । ३३–११ केभीको स्यार्कु सबस्टेसन सञ्चालन भएसँगै चामे बजारमा नियमित विद्युत् आपूर्ति हुने केन्द्रका प्रमुख मिलन सुवेदीले बताउनुभयो ।  

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, चिप्ले बेँसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत दुई हजार सात सय मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याइएको हो । 

गत वर्षको असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठुलो क्षति भएको थियो । हिमपातले निर्माण कार्य प्रभावित हुँदै आएको थियो । 

विद्युत् आपूर्तिमा आएको अवरोधका कारण जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवामा समेत नियमित रूपमा सञ्चालन गर्न असहज भएको थियो । बाढीले क्षति पुर्‍याउँदा प्राधिकरणको तीन करोडभन्दा बढीको क्षति भएको थियो । क्षतिग्रस्त लाइनको पुनर्निर्माणको काम २०७९ वैशाखभित्रै सम्पन्न भएको केन्द्रका प्रमुख सुवेदीले बताउनुभयो । 

अहिले चामे क्षेत्रका करिब ९० घरधुरी बिजुलीबाट लाभान्वित भएका छन् । यो सबस्टेसनबाट विद्युतीकरण हुने तिलिचो तालसम्मको र थोरङ बेस क्याम्पसम्म लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मनाङमा २०७७ फागुनमा पहिलो पटक ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुर्‍याइएको थियो ।

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ९ : ०५ बजे