बजेट अपराह्न ४ बजे सार्वजनिक हुँदै, के के छन् प्राथमिकतामा ?

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न ४ बजे बस्ने संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सरकारको आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नुहुनेछ ।

करीब १७ खर्ब हाराहारीको हुने अनुमान गरिएको बजेटले यही वर्ष हुने संघीय र प्रदेश सभा निर्वाचन लक्षित गरी मतदाता रिझाउने लोकप्रिय कार्यक्रम घोषणा गर्ने सम्भावना छ । खास समूहलाई लक्षित गरी कर छूट सुविधामा वृद्धि, कर्मचारीको तलब–भत्ता वृद्धि तथा सामाजिक सुरक्षाका कार्यक्रममा थप वितरणमुखी प्रस्ताव गर्ने बताइएको छ ।

सबै सरकारी कर्मचारीको तलब एकमुष्ट रु.दुई हजार बढाइने तयारी छ । त्यसै गरी, सामाजिक सुरक्षा अन्तर्गत ज्येष्ठ नागरिक भत्ता पाउने अवधि ७० वर्षबाट ६८ वर्षमा झारिने तयारी गरिएको छ । वेतनभोगीलाई लक्षित गरी आयकर लाग्ने सीमा परिवर्तन गरी रु.पाँच लाख ५० हजार (विवाहितको हकमा) पु¥याइने तयारी छ । अहिले दम्पतीलाई रु.चार लाख ५० हजारसम्म एक प्रतिशत मात्रै आयकर लाग्छ । अब, वार्षिक रु.पाँच लाख ५० हजारसम्म कमाउनेले १ प्रतिशत मात्रै कर तिरे पुग्नेछ ।

बजेटले कृषि र ऊर्जा लगायत उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राख्ने घोषणा गर्नेछ । गत साता सार्वजनिक सरकारको नीति तथा कार्यक्रमले पनि कृषि र ऊर्जा सहितका उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेको थियो ।

देशको अर्थतन्त्रको हिसाबकिताब बिग्रिएका वेला सरकारले बजेट मार्फत फजुल खर्च र अनावश्यक वितरणमुखी कार्यक्रम कटौती गर्नुपर्ने जानकारहरूको सुझाव विपरीत सरकारले ठूलै आकारको बजेट सार्वजनिक गर्न लागेको हो । हरेक वर्षजसो सरकारले ठूलो आकारको बजेट सार्वजनिक गर्ने तर लक्ष्य अनुसार खर्च नहुने अभ्यास चल्दै आएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ११ : ४२ बजे