झापामा रासायनिक मलको अभाव

दमक । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् ।

हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि  धानखेतीका लागि पनि मल अभाव भएको हो । धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको जनाइएको छ ।  

रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले बर्सेनि मलको समस्या झेल्नुपरेको झापा कमल–६ का अगुवा किसान ख्याम आचार्यले बताउनुभयो । यस वर्षसमेत धान रोप्ने समय हुँदा पनि डिएपी मल पाउन नसकेको उहाँको भनाइ छ ।

कमल गाउँपालिकाका लागि एक हजार बोरा डिएपी मल कोटामा छुट्टिएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

शाखा प्रमुख महेन्द्र बोहोराले कृषि सामग्री कम्पनीबाट प्राप्त हुने सो मल विभिन्न सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराइने जानकारी दिनुभयो ।

तर सहकारी संस्थाले मागका तुलनामा न्यून परिमाणको मल वितरण गर्न कठिन हुने कमल–६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक टङ्क पराजुलीले बताउनुभयो । 

उहाँले धान रोपाइका बेला उच्च माग हुने डिएपी न्यून परिमाणमा आएका कारण किसानको माग थेग्नसमेत कठिन भएको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ८ : ४४ बजे