धानमा दाना नलाग्दा किसान चिन्तित

बारा  ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रममा सहभागी भएर चैते धान खेती गरेका ठोरीका किसानको धानमा दाना नलाग्दा किसानहरू चिन्तामा परेका छन् । 

५० प्रतिशत अनुदानमा बीउ सुविधा र अन्य यान्त्रीकरणको सुविधा प्राप्त गरेर धान खेती गरेका ठोरी गाउँपालिका– ३ का अधिकांश किसानको खेतको धानमा बाला पसाए पनि दाना लागेको छैन । 

धान जोनअन्तर्गत करिब ११० बिघा र अन्य किसानले व्यक्तिगत रूपमा रोपेको धानमा बाला लागे पनि दाना नलागेर त्यसै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । 

धान जोन कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा उपलब्ध भएको हर्दिनाथ–१ प्रजातिको धान लगाएका किसानको खेतमा नै बाला सुक्न थालेपछि लगानी र मेहनत दुवै खेर जान लागेको ठोरी–३ का नवनिर्वाचित अध्यक्ष शम्भु खड्काले बताउनुभयो । 

ठोरी–३ मा सिँचाइको उपलब्धता र धान खेती धेरै हुने भएकोले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत धान जोन कार्यक्रम लागू गरिएको छ । 

यस्तै, धान जोनमा सहभागी नभएका अन्य किसानहरूले समेत धान खेती गर्ने गरेका छन् । ठोरी–३ मा मात्र यस वर्ष करिब तीन सय बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको चैते धानमा दाना नलागेको स्थानीय अगुवा ठाकुरप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १० : १५ बजे