विदेशी मुद्रा सञ्चिति झन् खस्कियो

काठमाडौँ । मुलुकको विदेशी मुद्रा सञ्चिति थप घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि चैत महिनासम्मको वित्तीय प्रतिवेदनअनुसार चैत मसान्तसम्म ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति छ । फागुनसम्म यस्तो सञ्चिति ११ खर्ब ७१ अर्ब थियो । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति ९ महिनामा १६.५ प्रतिशतले घटिसकेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा चैत मसान्तमा १८.२ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड डलर कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १० खर्ब २१ अर्ब छ भने बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ४६ अर्ब बराबर छ ।

विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ४ : ३८ बजे