राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आवश्यक जनशक्तिको वैज्ञानिक आंकलन गरी सोही अनूरुपको दक्ष जन शक्ति निर्माण गर्ने नीति लिन शिक्षा सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रमकासम्बन्धी प्रतिवेदन पेश गर्न प्रधानमन्त्री निवास बालुृवाटारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले यो निर्देशन दिनुभएको हो । ‘हामीलाई कुन क्षेत्रमा कति जना जनशक्ति चाहिने हो भन्ने निक्र्योलसहितको गुरुयोजना आवश्यक हुन्छ’, प्रधानमन्त्रीको भनाई थियो । शिक्षाका प्रयासहरुलाई त्यसै अनुरुप योजनाबद्ध ढंगले लैजानुपर्र्ने धारणा पनि उहाँको थियो । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीलाई कार्यक्रममा परेका विद्यालयहरुको विवरण प्रधानमन्त्रीसमक्ष पेश गर्नुभएको थियो । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विद्यालयका तत्कालिक आवश्यकता र भौतिक पक्षलाई सुधार्न वृहत स्तरमा गरिएको एउटा नौलो प्रयास भएको टिप्पणी पनि प्रधानमन्त्रीको थियो । सरकारले मेलम्ची खानेपानी जस्ता पहिले सुरु भएका योजनालाई सम्पन्न गर्नेदेखि राष्ट्रपति शैक्षिक सुधार जस्तो नवितम् योजनालाई अघि बढाउने सम्मका काम गरिरहेको भनाइ प्रधानमन्त्रीको थियो । ‘यो कार्यक्रममार्फ सरकारले शिक्षा क्षेत्रमा नयाँ थालनी गर्दैछ’ प्रधानमन्त्रीले भन्नुभयो । भौतिक गुणस्तरको सुधारसँगै विद्यार्थीलाई आफ्नो गौरवपूर्ण इतिहास प्रति गर्व गर्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा पनि उहाँको जोड थियो । पुर्वजहरुले ‘विद्या ददाती विनयम्’ भनेको भए पनि कतिपय विद्या लिएका व्यक्तिले यसको उलंघन गरेको पनि उहाँले बताउनुभयो । ‘‘विद्या आर्जन गरेको व्यक्तिले समाजका अरु व्यक्तिलाई यथोचित उत्कृष्ट व्यवहार गरेको हुनुपर्छ’, उहाँको भनाई थियो ।

समाजका कतिपय वर्ग शिक्षा लिनका लागि शिक्षालयसम्म आउने अवस्थामा नरहेकोले उनिहरुकै स्थानमा शिक्षा लैजानुपर्ने अवस्था रहेको पनि प्रधानमन्त्रीले औंल्याउँनुभयो । ‘पशुपालक किसानले दुई दिन पनि तपाईले तोकेको स्थानमा गएर पढने वा तालिम लिने छुटटी पाउँदैन, उसै कहाँ शिक्षा दिन जानुपर्छ’, उहाँको भनाई थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसँगै सिकाईको प्रभावकारितामा पनि गम्भिर ध्यान दिनुपर्ने धारणा प्रधानमन्त्रीको थियो । ‘शिक्षकले कक्षामा कस्तो पढाइरहेको छ, उसको सम्प्रेषण कला कस्तो छ ? विद्यार्थीको ध्यानाकर्षण गर्न सक्छ कि सक्दैन र विद्यार्थीले बुझ्छन् कि बुझदैनन् ? यस कुरामा ध्यान दिनुपर्ने प्रधानमन्त्रीको निर्देशन थियो ।

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ३ : ५३ बजे