झ्याप्लेखोलाबाट २५ शव निकालियो

मकवानपुरमा निर्वाचनको तयारी तीव्र

बागमती।  यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा तयारी तीव्ररुपमा चलिरहेको छ । 

उम्मेदवारले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । पार्टीको झण्डा, ब्यानर तथा चुनाव चिन्हसहित जुलुसका साथ उम्मेदवार टोलटोल तथा घरघरमा पुग्न थालेका छन् । उम्मेदवारले आफ्नो पार्टीको  प्रतिबद्धता र घोषणपत्र लिएर जनतालाई रिझाउन थालेका छन् । 

मकवानपुरको १० स्थानीय तहको ग्रामीण तथा दुर्गम  क्षेत्रमा निर्वाचनको चहलपहल ह्वात्तै बढेको छ । घरदैलो कार्यक्रम शान्तिपूर्णरुपमा भइरहेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार तीन लाख २५ हजार मतपत्र आइपुगेको छ । निर्वाचनका लागि  आवश्यक सामग्री प्रदेश निर्वाचन कार्यालयबाट ल्याउन बाँकी छ । 

प्रदेश निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत लुम्वनाथ पोखरेलका अनुसार मतपत्र मतदानस्थलमा यही वैशाख २७ गतेसम्म वितरण गरिने छ । निर्वाचनमा खट्निे मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि  तालिमको आयोजना गर्ने तयारी भइरहेको छ । निर्वाचनमा जिल्लामा करिब एक हजार ८०० भन्दा बढी  कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता छन् । स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल ५३० पदका लागि निर्वाचन हुँदै छ । जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र कायम गरिएको छ । विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दुई लाख २६ हजार ७५९ मतदाता थिए । रासस

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : १४ बजे